Logo

फाईल फोटो

२४ पौष, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया आज (बिहीबार) देखि औपचारिक रूपमा सुरु हुने भएको छ। प्रहरी प्रधान कार्यालयले भर्नासम्बन्धी सूचना आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ भने इच्छुक उम्मेदवारले भोलि (शुक्रबार) देखि आवेदन दिन सक्नेछन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीमा भर्नाका लागि पाँच दिनसम्म आवेदन लिन सकिनेछ । आवेदन देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत बुझाउन सकिने व्यवस्था मिलाइएको छ । आवेदन दर्ता सकिएपछि छनोट प्रक्रिया अघि बढाइनेछ ।

यस पटक नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्नेछन् । यद्यपि, उम्मेदवार छनोट प्रक्रिया भने दुवै सुरक्षा निकायले संयुक्त रूपमा सञ्चालन गर्नेछन् । छनोट भइसकेपछि मात्र नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ-आफ्नो कोटाअनुसार तालिम दिने व्यवस्था गरिएको छ ।

निर्वाचन प्रहरी छनोटका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायहरू सम्मिलित समिति गठन गरिनेछ । यसअघि ‘म्यादी प्रहरी’ भनेर चिनिने जनशक्तिलाई यस पटक पहिलो पटक ‘निर्वाचन प्रहरी’ नाम दिइएको हो ।

भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । पूर्वसुरक्षाकर्मी, यसअघि म्यादी प्रहरीका रूपमा काम गरिसकेका, छिमेकी देशका सुरक्षा निकायबाट अवकाश पाएका तथा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण व्यक्तिलाई प्राथमिकता दिइनेछ । फौजदारी कसुरमा सजाय नपाएको र नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड पनि तोकिएको काफ्लेले बताए ।

छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम दिएर करिब एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइनेछ । उनीहरूले ४० दिनको तलब पाउनेछन्, जुन प्रहरी जवानको सरह हुनेछ। साथै, पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन सुविधा पनि नेपाल प्रहरी सरह उपलब्ध गराइने काफ्लेको भनाई छ ।

निर्वाचनको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित सुरु हुन लागेको यस भर्ना प्रक्रियाले ठूलो संख्यामा युवालाई अस्थायी रोजगारीको अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै