Logo

२४ पौष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीबाट नाम फिर्ता लिनेको संख्या १२ पुगेको छ । पछिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. रामजी रामले पनि नाम फिर्ता लिने घोषणा गरेसँगै पार्टीभित्र समानुपातिक उम्मेदवारीबारे बहसको विषय बनेको छ ।

यसअघि डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका थिए ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार मोहना अन्सारीले केही दिनअघि नै समानुपातिक सूचीको पहिलो नम्बरमा नाम राख्न आग्रह गरेकी थिइन् । उक्त माग पूरा नभएपछि उनले समानुपातिकमा नबस्ने निर्णय लिएको प्रवक्ता झाको भनाइ छ । त्यस्तै, साजन विकले समानुपातिकबाट हटेर भक्तपुर-२ बाट प्रत्यक्ष निर्वाचन लड्ने इच्छा व्यक्त गरेका छन् ।

यद्यपि निर्वाचन आयोगले हाल भइरहेका यी घोषणालाई औपचारिक फिर्ता भने मानेको छैन । आयोगका अनुसार समानुपातिक सूचीबाट नाम फिर्ता लिन उम्मेदवार स्वयं निर्वाचन आयोगमा उपस्थित भई निवेदन दिनुपर्छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पुस २८ गतेदेखि मात्र उम्मेदवारलाई औपचारिक रूपमा नाम फिर्ता गर्ने समय दिइनेछ ।

आयोगको कार्यतालिका अनुसार पुस २७ गतेसम्म दलहरूले सूचीमा देखिएका त्रुटि सच्याउन पाउनेछन् । त्यसपछि नाम फिर्ता भएका स्थानमा सम्बन्धित समूहबाट नयाँ उम्मेदवारको नाम दलले पेस गर्न सक्नेछ।  अन्तिम बन्दसूची भने माघ २० गते प्रकाशित हुने आयोगले जनाएको छ ।

समानुपातिक सूचीबाट लगातार नाम फिर्ता हुने क्रमले रास्वपाको आन्तरिक व्यवस्थापन र उम्मेदवार चयन प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्, भने निर्वाचनको पूर्वसन्ध्यामा दलभित्रको असन्तोष पनि सतहमा आएको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै