२४ पुष, काठमाडौँ । जेन–जी आन्दोलनको रापतापपछि ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास जस्ता तीन शक्तिशाली मन्त्रालयको कमान सम्हालेका कुलमान घिसिङले ११५ दिनमै मन्त्री पदबाट राजीनामा दिएका छन् ।
बुधबार राति पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका घिसिङले बिहीबार आफ्नो छोटो तर प्रभावशाली कार्यकालको विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै अब आफू सशक्त राजनीतिक यात्रामा होमिने उद्घोष गरेका हुन् । पदभन्दा सिद्धान्त र कुर्सीभन्दा आत्मसम्मान ठूलो हुने तर्क गर्दै उनले आफ्नो राजीनामालाई जिम्मेवारीबाट भागेको नभई नैतिकताको निरन्तरताका रूपमा व्याख्या गरेका छन् ।
घिसिङको कार्यकालको सबैभन्दा ठूलो सफलताका रूपमा वर्षौँदेखि गिजोलिएको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल असुली प्रक्रियालाई हेरिएको छ । उनले राजनीतिक हस्तक्षेपका कारण रोकिएको प्रिमियम महसुललाई किस्ताबन्दीमा उठाउन सुरु गराएर राज्यको ढुकुटीमा ठूलो रकम भित्र्याउने आधार तयार गरे । ऊर्जा क्षेत्रमै उनले बुढीगण्डकी र अपर अरुणजस्ता राष्ट्रिय गौरवका आयोजनालाई स्वदेशी लगानीमै निर्माण गर्ने ठोस वित्तीय ढाँचा तयार गरी अर्थ मन्त्रालय पठाएका छन् । साथै, भारत र बंगलादेशसँगको विद्युत व्यापारमा भएका ऐतिहासिक सम्झौता र अन्तरदेशीय प्रसारण लाइन निर्माणको सुनिश्चितताले नेपालको उर्जा अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने देखिएको छ ।
भौतिक पूर्वाधारको क्षेत्रमा घिसिङले ुरुग्ण ठेक्काु विरुद्ध कडा कदम चाले । १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित सडक र सिँचाइतर्फका करिब ६६ वटा रुग्ण ठेक्का उनले यसै अवधिमा तोडिदिएका छन् । बाढीले क्षतिग्रस्त बीपी राजमार्गलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउनु, मुग्लिन(नागढुंगा र नारायणघाट(बुटवल सडक खण्डको कामलाई गति दिनु र चीनसँगको तातोपानी नाकाको अवरोध हटाउनुलाई उनले आफ्नो प्रमुख उपलब्धिको सूचीमा राखेका छन्। सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) को अभाव खेपिरहेका नागरिकका लागि सुरक्षण मुद्रण केन्द्रसँगको समन्वयमा छपाइ सुरु गराउनु अर्को महत्वपूर्ण प्रशासनिक सुधार थियो ।
शहरी विकास मन्त्रालयतर्फ भने उनले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको तीव्र पुननिर्माणलाई प्राथमिकता दिए। हरियो स्टिकर लागेका १४० भवनको मर्मत सम्पन्न भइसकेको र रातो स्टिकर लागेका भवनको टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको उनले उल्लेख गरेका छन्। त्यस्तै, काठमाडौँको फोहोर व्यवस्थापन र मेलम्ची खानेपानीको मुहानमा देखिएको अवरोधलाई वार्तामार्फत समाधान गर्दै शहरी सेवालाई सुचारु राख्न उनले समन्वयकारी भूमिका खेले। क्रिकेट प्रेमीहरूका लागि त्रिभुवन विश्वविद्यालय र कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गराई निर्माण प्रक्रिया अघि बढाउनु उनको कार्यकालको अर्को लोकप्रिय काम बन्यो।
अन्तमा, घिसिङले उज्यालो नेपाल निर्माणको संकल्पलाई अब राजनीतिक मैदानबाटै पूरा गर्ने बताएका छन् । उनले कुनै पार्टीको सदस्यता नलिएको प्रष्ट पार्दै आगामी दिनमा जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयको कोठामा मात्र सीमित नभई फिल्डमै पुगेर समस्या समाधान गर्ने उनको कार्यशैलीले ११५ दिनमै नीतिगत सुधारको बलियो जग बसालेको दाबी रिपोर्टमा गरिएको छ।















