Logo

२४ पुष, काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ ।

यस गिरावटसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी हेर्दा पछिल्लो दुई दिनमै सुनको मूल्य तोलामा कुल २ हजार ४ सय रुपैयाँले ओरालो लागेको देखिन्छ ।

पुस महिना लागेसँगै सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ । यसअघि गत सोमबार र मंगलबार मात्रै सुनको भाउ तोलामा ७ हजार ७ सय रुपैयाँले बढेको थियो । पुस १३ गते सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गर्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च बिन्दु हो । तर, गत साताका पाँच दिनमा १३ हजार १ सय रुपैयाँले घटेको सुनको भाउ यो साताको अन्त्यतिर पुनः घट्ने लयमा देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको विश्लेषण छ ।

चाँदीको मूल्यमा पनि आज ठूलो गिरावट आएको छ । हिजो बुधबार प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ पुगेर कीर्तिमान कायम गरेको चाँदीको भाउ आज बिहीबार तोलामा १ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा झरेको छ । हिजो मात्रै चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको थियो । समग्रमा, यो साता बहुमूल्य धातुको मूल्यमा देखिएको अस्थिरताले उपभोक्ता र लगानीकर्ता दुवैमा अन्योल बढाएको छ ।


सम्बन्धित समाचार