२४ पुष, काठमाडौं । ठमेलस्थित छाया सेन्टरमा सञ्चालित वाल्डो क्यासिनोमा आधुनिक प्रविधिको प्रयोग गरी करोडौँ ठगी गर्ने गिरोहमाथि कानुनी कारबाही सुरु भएको छ ।
आँखामा स्मार्ट आइलेन्स र तासमा म्याग्नेटिक चिप्स जडान गरी जुवा खेल्ने र खेलाउने योजना बुन्ने भारतीय समूहका चार सदस्यलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । कारागार चलान हुनेहरूमा ५७ वर्षीय सुरेश महाजनसहित प्रमोद मौर्य, विक्रम सिंह र दिनेश बर्मा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरूलाई ठगी कसुरमा सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको छ ।
यस हाइटेक ठगी प्रकरणमा संलग्न अन्य तीन जना भने धरौटीमा रिहा भएका छन् । अदालतको आदेशअनुसार सुनसरीकी चिजा खड्का र काठमाडौँकी भवानी पाण्डे जनही एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने चिनियाँ नागरिक वाङ पुफा यान होउ पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । यद्यपि, यो गिरोहका मुख्य नाइके मानिने क्यासिनो सञ्चालक जनार्दन उप्रेती (विनोद) सहित गौरव खत्री र नीरज कुमार लगायतका व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा यो गिरोहले निकै योजनाबद्ध ढंगले ठगीको जालो फैलाएको सनसनीपूर्ण तथ्य खुलेको छ। मुख्य योजनाकार सुरेश नेपालमा ुक्यासिनो इभेन्ट गर्ने बहानामा पाँचतारे होटलका ११० वटा कोठा बुक गरेर भारतका धनाढ्य व्यक्तिहरूलाई खेल्नका लागि बोलाउने गरेका थिए । उनीहरूले खेल्ने तासमा पहिले नै चिप्स जडान गरिएको हुन्थ्यो, जसलाई आँखामा लगाइएको विशेष आइलेन्सले रिड गर्न सक्थ्यो ।
गिरोहले आफ्नै डमी खेलाडीहरूलाई आइलेन्स लगाएर मैदानमा उतार्ने गर्थे, जसले गर्दा विपक्षीको हातमा कुन तास छ भन्ने कुरा पछाडिबाटै थाहा पाउने र सोहीअनुसार दाउ लगाएर करोडौँ रकम जित्ने गरेको पाइएको छ । प्रविधिको यस्तो दुरूपयोग गरी क्यासिनोलाई नै ठग्ने यो सम्भवतः नेपालकै पहिलो र नौलो प्रकृतिको घटना हो।















