Logo

२४ पुष, काठमाडौं । मधेस प्रदेशको इन्जिनियरिङ क्षेत्रमा स्थापित व्यक्तित्व एवं नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्ष नन्दकिशोर यादवले आफ्नो राजनीतिक बाटो परिवर्तन गरेका छन् ।

लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध रहँदै आएका यादव बिहीबार औपचारिक रूपमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका हुन् । ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच अध्यक्ष यादवले उनलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना दिनुभयो ।

धनुषाको सबैला–६ स्थायी घर भएका इन्जिनियर यादव नेकपा मधेस प्रदेश समिति सदस्यका साथै भौतिक पूर्वाधार तथा यातायात विभागको केन्द्रीय सदस्य जस्तो जिम्मेवार पदमा कार्यरत थिए । प्राविधिक र राजनीतिक दुवै क्षेत्रमा दख्खल राख्ने यादवको जसपा नेपाल प्रवेशलाई मधेसको राजनीतिमा बौद्धिक तप्काको आकर्षण बढेको रूपमा व्याख्या गरिएको छ । नवप्रवेशी यादवले मधेसका मुद्दाहरू र विकासको एजेन्डालाई जसपा नेपालले नै सही ढंगले अघि बढाउन सक्ने विश्वासका साथ आफूले पार्टी परिवर्तन गरेको संकेत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीका सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्माका साथै कार्यकारिणी समिति सदस्य दीपक कार्कीको सहभागिता थियो । रोचक कुरा त के छ भने, केही समयअघि मात्रै जसपा परित्याग गरी पुनः जसपा नेपालमै फर्किएका प्रभावशाली नेताहरू रेणुकुमारी यादव र प्रदीप यादव पनि कार्यक्रममा सहभागी भई नन्दकिशोरलाई स्वागत गरेका थिए । यसले जसपा नेपालभित्र पछिल्लो समय उत्साह फर्किएको र सांगठनिक विस्तारमा तीव्रता आएको देखाउँछ ।


सम्बन्धित समाचार