Logo

२५ पौष, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । देशभरका जिल्ला प्रहरी कार्यालयहरूले आ-आफ्नो कोटा अनुसार सूचना जारी गर्दै आज शुक्रबारदेखि आवेदन माग गरेका छन् ।

यसअघि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको कोटाअनुसार १ लाख ३३ हजार ९ सय ८० जनाका लागि मात्रै आवेदन खुलाएको थियो । तर, गृह मन्त्रालयको निर्देशनपछि जिल्लाहरूले सशस्त्र प्रहरीको कोटा १५ हजार १ सय १० जना समेत समेटेर संयुक्त रूपमा आवेदन आह्वान गरेका हुन् । सशस्त्र प्रहरीले आफ्नो कोटाको भर्ना कसरी गर्ने भन्ने विषयमा गृह मन्त्रालयमा छलफल गरेपछि दुवै निकायको कोटा उल्लेख गरेर सूचना निकाल्न निर्देशन दिइएको थियो ।

सूचनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोटा छुट्टाछुट्टै उल्लेख भए पनि छनोट प्रक्रिया भने संयुक्त रूपमा गरिने जनाइएको छ । सबै प्रक्रिया टुंगिएपछि मात्रै कुन उम्मेदवार नेपाल प्रहरी र कुन सशस्त्र प्रहरी मातहत रहने भन्ने तय हुनेछ । त्यसपछि दुवै सुरक्षा निकायले आ-आफ्नो टोलीलाई १० दिनको तालिम दिनेछन् ।

तालिमपछि करिब एक महिनासम्म निर्वाचन सुरक्षामा खटाइने निर्वाचन प्रहरीको करार अवधि ४० दिन (तालिमसहित) तोकिएको छ । यद्यपि, निर्वाचनको अवस्था अनुसार म्याद थप वा नियुक्ति बदर हुन सक्ने व्यवस्था सूचनामा उल्लेख गरिएको छ । निर्वाचन स्थगित वा रद्द भएमा नियुक्ति स्वतः रद्द हुने पनि स्पष्ट पारिएको छ ।

निर्वाचन प्रहरीले दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको ३४ हजार ७ सय ७६ रुपैयाँ तलब पाउनेछन् । साथै, आवतजावत भत्ता, खाजा भत्ता, पोशाक खर्च र अन्य सुविधा नेपाल प्रहरीका जवान सरह उपलब्ध गराइनेछ । सबै रकम बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ । निर्वाचनमा खटिँदा घाइते वा मृत्यु भएमा सरकारले तोकेअनुसार क्षतिपूर्ति पनि उपलब्ध गराइनेछ ।

इच्छुक नेपाली नागरिकले आजदेखि पाँच दिनभित्र देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । यो भर्ना प्रक्रियाले निर्वाचन सुरक्षासँगै ठूलो संख्यामा युवालाई अस्थायी रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार