२५ पौष, काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनको प्रयोजनका लागि दर्ता भएका राजनीतिक दल र उम्मेदवारहरूलाई निश्चित शुल्क लिएर मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका’ अनुसार अब देशभरका मतदाताको विवरण १० हजार रुपैयाँ तिरेर प्राप्त गर्न सकिनेछ ।
आयोगका अनुसार मतदाता नामावली प्राप्त गर्नका लागि सम्बन्धित राजनीतिक दलले आधिकारिक पत्र पेस गर्नुपर्नेछ । आयोगले प्राप्त निवेदनका आधारमा हार्डड्राइभ वा पेनड्राइभ मार्फत विद्युतीय प्रति (डिजिटल कोपी) उपलब्ध गराउनेछ। यद्यपि, मतदाताको गोपनीयतालाई ध्यानमा राख्दै जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर भने उपलब्ध गराइने छैन ।
निर्वाचन आयोगले मतदाता नामावली उपलब्ध गराए बापत लाग्ने दस्तुरलाई विभिन्न तहअनुसार वर्गीकरण गरेको छ । जसअनुसार देशभरका मतदाताको सम्पूर्ण विवरण प्राप्त गर्न राजनीतिक दलले १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने कुनै एक प्रदेशको मात्र विवरण आवश्यक परेमा ५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । त्यसैगरी, जिल्लाभरको नामावली वा कुनै एक निर्वाचन क्षेत्रको मात्र विवरण चाहिएमा प्रति एकाइ ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मतदाताले आफ्नो व्यक्तिगत विवरणको प्रतिलिपि लिन चाहेमा भने १० हजार रुपैयाँ शुल्क लाग्ने आयोगले जनाएको छ ।
कुनै पनि मतदाताले आफ्नो व्यक्तिगत मतदाता विवरणको प्रतिलिपि लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार शुल्क लिई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको आयोगको भनाई छ । त्यस्तै, स्वतन्त्र उम्मेदवारहरूले आफ्नो निवेदनका आधारमा तोकिएको शुल्क बुझाएर सम्बन्धित क्षेत्रको विद्युतीय नामावली प्राप्त गर्न सक्नेछन्।
निर्वाचन अधिकृतले कुनै पनि मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारलाई मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न दिनुपर्नेछ। तर, यसरी विवरण हेर्दा वा सार्दा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न पाइने छैन ।
आयोगका अनुसार “फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामावली जोसुकैले पनि हेर्न सक्नेछन्।”
यस व्यवस्थाले निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारहरूलाई आफ्नो क्षेत्रका मतदाताको वस्तुस्थितिबारे जानकारी लिन र चुनावी प्रचारप्रसार व्यवस्थित गर्न सहज हुने आयोगको विश्वास छ ।















