Logo

२५ पौष, वीरगञ्ज । यस वर्षको वसन्त पञ्चमी तथा सरस्वती पूजा आगामी माघ ९ गते परेको छ । पूजाको तिथि नजिकिएसँगै तराईमधेसको व्यापारिक केन्द्र वीरगञ्जका मूर्तिकारहरू सरस्वती माताको मूर्ति तयार गर्नमा निकै व्यस्त देखिएका छन् । शैक्षिक संस्था र विद्यार्थीहरूले मूर्ति स्थापना गरी पूजा गर्ने चलन रहेकाले यतिबेला मूर्तिको माग बढेको हो ।

वीरगञ्जको ब्रह्मचोक गल्लीमा विगत ५ वर्षदेखि मूर्ति बनाउँदै आएका राजन शर्मालाई यतिबेला भ्याइनभ्याई छ । उनलाई यस काममा बुवा, आमा र बहिनीले समेत साथ दिइरहेका छन् । माटो र परालको मिश्रणबाट आकर्षक मूर्ति बनाउन सिपालु राजनले यसपटक जग्गा भाडामा लिएर काम सुरु गरेका छन्, जसको मासिक भाडा मात्र ९ हजार रुपैयाँ तिर्ने गर्छन् ।

मूर्तिकार राजन शर्मा

उनका अनुसार मूर्ति बनाउन प्रयोग गरिने ’पियारी माटो’ र पराल गाउँबाट महँगो मूल्यमा खरिद गरेर ल्याउनुपर्छ । “एक ट्रयाक्टर माटोको ४ देखि ५ हजार रुपैयाँसम्म पर्छ,“ राजनले भने, “पराल पनि काँटाको हिसाबले गाउँबाटै किनेर ल्याउनुपर्ने हुन्छ ।“

पछिल्ला केही दिनदेखि वीरगञ्जमा घाम नलागेका कारण मूर्ति सुकाउन मूर्तिकारहरूलाई सकस भएको छ । चिसो मौसमका कारण कतिपयले हिटरको प्रयोग गरेर मूर्ति सुकाइरहेका छन् । राजनले यस सिजनका लागि करिब ६५ हजार रुपैयाँ लगानी गरेर साना–ठूला मूर्तिहरू तयार गरेका छन् । उनले तयार गरेका ठूला मूर्तिको मूल्य ८ देखि ९ हजार र साना मूर्तिको ३ देखि ४ हजार रुपैयाँसम्म तोकिएको छ । पूजा आउन १३ दिन बाँकी छँदै उनका १५ वटा मूर्ति बुकिङ भइसकेका छन् ।

त्यस्तै, वीरगञ्ज–१६ का अर्का मूर्तिकार राजकुमार पण्डित पनि सम्झना होटल पछाडिको स्थानमा मूर्ति बनाउन व्यस्त छन् । उनले यस वर्ष अर्डरअनुसार ४५ वटा मूर्ति तयार गरेका छन्, जसमध्ये ३० वटा बिक्री भइसकेका छन् । पण्डितले पनि आकारअनुसार ३ हजारदेखि ९ हजार रुपैयाँसम्ममा मूर्ति बिक्री गरिरहेका छन् ।

मूर्तिकारहरूका अनुसार यो पेशा मात्र नभई उनीहरूको रहर पनि हो । कतिपय अवस्थामा अपेक्षाअनुसार नाफा नभए पनि घाटा नहुने उनीहरूको अनुभव छ । सरस्वती पूजा मात्र नभई अन्य समयमा हुने यज्ञमहायज्ञहरूमा समेत उनीहरू पुगेर मूर्ति बनाउने गर्दछन् ।


सम्बन्धित समाचार