२५, पुष, काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र १५ औं महाधिवेशनको कार्यतालिकालाई लिएर संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले नयाँ पहलकदमी सुरु गरेका छन् ।
पार्टीका शीर्ष नेताहरूबीचको टकरावले संगठन नै संकटमा पर्न सक्ने भन्दै यो समूहले मध्यमार्गी बाटो खोज्न शुक्रबार ललितपुरको कुपण्डोलमा विशेष छलफल आयोजना गरेको छ । केन्द्रीय सदस्य डा.डिला संग्रौलाका अनुसार, पार्टीको आन्तरिक कलह व्यवस्थापन र आसन्न निर्वाचनअगावै महाधिवेशन सम्पन्न गर्ने सुनिश्चितताका लागि यो समूहले गृहकार्य तीव्र पारेको हो । यसअघि नै यो समूहले सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरी विवाद समाधानका उपायबारे छलफल गरिसकेको छ ।
पार्टीभित्र विशेष महाधिवेशन वा नियमित १५ औं महाधिवेशन भन्ने बहस चलिरहँदा यो २५ सदस्यीय समूहले भने निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने अडान राख्दै आएको छ । केन्द्रीय सदस्य आङगेलु शेर्पाले कोइरालासँगको भेटमा पार्टीलाई विभाजन हुनबाट जोगाउन र महाधिवेशनसम्बन्धी विवाद सुल्झाउन मध्यमार्गी निकासको प्रस्ताव गरिएको जानकारी दिएका छन् ।
यसअघि १८ पुसमा सभापति देउवा र महामन्त्रीद्वयसँग छलफल गरेको यो समूहले २२ पुसमा कोइरालासँग संवाद गरेको थियो । महाधिवेशनको कार्यतालिकालाई लिएर पार्टीका दुई धारबीच सहमति जुट्न नसकेको वर्तमान अवस्थामा यो समूहको सक्रियतालाई कांग्रेसभित्र निकै चासोका साथ हेरिएको छ ।















