२३ पुष, काठमाडौं । काठमाडौं उपत्यकाको सडक सुरक्षालाई थप मजबुत बनाउन र बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक सप्ताह–२०८२’ को औपचारिक शुभारम्भ गरेको छ ।
शुक्रबार आयोजित एक विशेष पत्रकार सम्मेलनका बीच सुरु भएको यो अभियान आगामी माघ २ गतेसम्म सञ्चालन हुनेछ । सडकमा हुने जनधनको क्षति कम गर्न र नागरिकमा ट्राफिक नियमप्रति सचेतना जगाउन यो साताव्यापी कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास प्रहरीले लिएको छ ।
अभियानको सुरुवात शुक्रबार रक्तदान कार्यक्रमबाट गरिएको छ भने यसमा प्रविधि र सञ्चारलाई समेत प्राथमिकता दिइएको छ । कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार अब दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूका माध्यमबाट मोबाइलमा ट्राफिक सचेतनाका सन्देशहरू रिङटोनका रूपमा बज्नेछन् । साथै, उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धी जानकारीमूलक बोर्डहरू राख्ने र सवारी दुर्घटनाका दृश्य तथा वृत्तचित्रहरू प्रदर्शन गरेर चालक तथा पैदलयात्रीलाई सजग गराइने योजना कार्यालयले अघि सारेको छ ।
रात्रिकालीन तथा लामो दूरीका सवारी साधनहरूमा अनिवार्य रूपमा सचेतनामूलक वृत्तचित्र देखाउनुपर्ने व्यवस्था मिलाइएको छ भने पछिल्लो समय चर्चामा रहेका राइड सेयरिङ एपका चालकहरूलाई समेत विशेष तालिम दिइने भएको छ । पत्रकार सम्मेलनमा एसएसपी नवराज अधिकारीले सडक सुरक्षा केवल प्रहरीको मात्र नभई सम्पूर्ण समाजको जिम्मेवारी भएको उल्लेख गर्दै सार्वजनिक यातायातमा जीपीएस प्रणाली र सीसीक्यामेरा जडानका लागि आवश्यक समन्वय गरिने जानकारी दिनुभयो । यस ट्राफिक सप्ताहले काठमाडौंको सडकलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।















