Logo

२५ पुष, काठमाडौं ।  आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सरकारले शुक्रबारदेखि ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि भर्ना प्रक्रिया सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले देशैभरिबाट कुल १ लाख ३३ हजार ९८० जना जनशक्ति माग गरेसँगै काठमाडौँ उपत्यकासहित देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेहरूको ठुलो भिड लागेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरी परिसरहरूमा बिहानैदेखि युवाहरूको लामो लाइन देखिएको छ, जसले रोजगारीको अवसर र चुनावी सुरक्षामा खटिने उत्साहलाई प्रतिबिम्बित गर्दछ ।

भर्ना प्रक्रियालाई सहज बनाउन प्रहरीले आगामी माघ १ गतेसम्म दरखास्त दिने समय सीमा तोकेको छ भने बिदाको दिनमा समेत फारम बुझ्न सकिने व्यवस्था मिलाइएको छ । छनोट प्रक्रियामा यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा उत्कृष्ट काम गरेका अनुभवी व्यक्तिहरू, पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक र विदेशी सुरक्षा निकायमा काम गरेर फर्किएका नेपाली नागरिकहरूलाई विशेष प्राथमिकता दिइनेछ । यसका साथै, पछिल्लो समय सुरक्षा निकायको भर्ना प्रक्रियामा शारीरिक र स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका उम्मेदवारहरूलाई पनि प्राथमिकताको सूचीमा राखिएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसरमा देखिएको लाइनले निर्वाचनको सरगर्मी सुरु भएको संकेत गरेको छ । भर्ना भएका निर्वाचन प्रहरीले निर्वाचनको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरीसँगै काँधमा काँध मिलाएर खटिनुपर्नेछ । देशभरका ७७ वटै जिल्लाबाट आवेदन संकलन भइरहेको यो अभियानले एकातिर युवाहरूलाई अल्पकालीन रोजगारी प्रदान गरेको छ भने अर्कोतिर ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा जनशक्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।


सम्बन्धित समाचार