२५ पुष, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको विवादित बनेको अमेरिका भ्रमण अन्ततः रद्द भएको छ ।
मन्त्रीका प्रमुख स्वकीय सचिव विनोद रिमालले मन्त्री गुप्ता अमेरिका नजाने निश्चित भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को पुस २१ गतेको बैठकले उहाँलाई भ्रमणको स्वीकृति प्रदान गरे पनि भिसा प्रक्रियाका लागि आवेदन नै नदिएका कारण यो भ्रमण रोकिएको हो । भ्रमणका लागि मन्त्रिपरिषद्बाट निर्णय हुन ढिलाइ भएको र पछिल्लो समय जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय हुन नसक्दा उहाँले प्रक्रिया अगाडि नबढाउनुभएको स्वकीय सचिव रिमालको भनाइ छ ।
जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरूको भूमिका विषयक कार्यक्रममा सहभागी हुन मन्त्री गुप्ता अमेरिका जाने तयारीमा हुनुहुन्थ्यो । तर, सो कार्यक्रमका लागि बनाइएको निमन्त्रणा पत्र नक्कली भएको दाबीसहित सार्वजनिक रूपमा मन्त्रीको व्यापक आलोचना भएको थियो । आलोचना र कानुनी प्रक्रियाका बीच मन्त्रीले भ्रमण रद्द गर्ने निर्णय गरेसँगै यो विवाद तत्कालका लागि साम्य भएको देखिएको छ ।















