२५ पुष, काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालको सम्भावित दुरुपयोग रोक्न र सकारात्मक सन्देश प्रवाहलाई बढावा दिन सक्रियता देखाएको छ ।
आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मेटा (फेसबुक) र टिकटक जस्ता ठुला प्लेटफर्मका प्रतिनिधिहरूसँग प्रारम्भिक संवाद भइसकेको जानकारी दिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती सञ्जालका प्रतिनिधिहरूले अघिल्ला निर्वाचनहरूमा झैँ यस पटक पनि निर्वाचनलाई मर्यादित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनको समयमा हुन सक्ने नकारात्मक गतिविधि र मिथ्या सूचनालाई कडाइका साथ नियन्त्रण गर्न आयोगले सबै सञ्जाल प्लेटफर्महरूलाई औपचारिक रूपमा पत्राचार गरिसकेको छ । आयोगले यस प्रक्रियालाई थप व्यवस्थित बनाउन आवश्यक परे सम्बन्धित पक्षसँग औपचारिक समझदारी पत्र मै हस्ताक्षर गरेर अघि बढ्ने तयारी गरेको छ । यसै सिलसिलामा सम्बन्धित प्लेटफर्मका प्रतिनिधिहरू समय मिलाएर नेपाल आउनेसम्मको सहमति भएको र आयोगले सामाजिक सञ्जाललाई निर्वाचनको सहयोगी संयन्त्रका रूपमा उपयोग गर्ने नीति लिएको छ।















