Logo

ठोरी, पर्सा । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ठोरी गाउँपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित टिकटक प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। गाउँपालिकाले देशभरका नेपाली टिकटक प्रयोगकर्तालाई लक्षित गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको हो।

प्रतियोगिताअन्तर्गत सहभागीहरूले ठोरी गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रचार हुने गरी टिकटक भिडियो तयार गर्नुपर्नेछ। भिडियोमा ठोरीका पर्यटकीय गन्तव्य स्पष्ट रूपमा देखिनु अनिवार्य रहने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार अश्लील शब्द प्रयोग भएका, अरूको मानहानी गर्ने, व्यक्ति, संस्था वा स्थानको अपमान गर्ने, जातीय, धार्मिक वा राजनीतिक द्वन्द्व फैलाउने तथा समाजमा अपाच्य विषय समावेश गरिएका टिकटक भिडियोहरू प्रतियोगिताबाट स्वतः अयोग्य ठहरिनेछन्।

विजेता छनोट गर्दा भिडियोको ख्ष्भधक,Views, Likes, Comments र पर्यटकीय क्षेत्रको विषयवस्तु प्रस्तुति—प्रत्येकलाई २५ प्रतिशतका दरले मूल्यांकन गरिनेछ। साथै नेपालीपन र ठोरीको पहिचान झल्किने भिडियोहरूलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले स्पष्ट पारेको छ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. २० हजार, द्वितीयलाई रु. १५ हजार र तृतीयलाई रु. १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता २०८२ पौष २५ गतेदेखि २०८२ माघ २५ गतेसम्म एक महिनासम्म सञ्चालन हुनेछ। उक्त अवधिभित्र अपलोड गरिएका टिकटक भिडियोहरू मात्र प्रतियोगिताका लागि मान्य हुनेछन्। भिडियो अपलोड गरेपछि सहभागीले ठोरी गाउँपालिकाको आधिकारिक TikTok ID ‘Thori Gaupalika’ लाई Like, Follow तथा Mention गर्नुपर्ने व्यवस्था गरिएको छ।

टिकटक भिडियो नेपाली वा भोजपुरी भाषामा बनाउन सकिनेछ भने भिडियोको अवधि कम्तिमा ३० सेकेन्ड र बढीमा १ मिनेट हुनुपर्नेछ। प्रतियोगिता सम्पन्न भएको एक हप्ताभित्र नतिजा सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै