२५ पुस, पर्सा । राष्ट्रिय निकुञ्जको सिमानासँग जोडिएका पर्सा जिल्लाका किसानहरू जंगली जनावरबाट बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्। पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रबाट जंगली जनावरको आवतजावत बढ्दै जाँदा किसानहरूको खेती गम्भीर जोखिममा परेको छ।
जिल्लाको पश्चिमी–उत्तरी क्षेत्रमा पर्ने जिराभवानी गाउँपालिकाका सखुवनीया, हरैया, काठमाडौं टोल, शान्तिनगर तथा ठोरी गाउँपालिकाअन्तर्गत क्षेत्रीलाइन र गडुवालाईन क्षेत्रका किसानहरू जंगली जनावरबाट बढी प्रभावित भएका छन्। यसैगरी पटेर्वासुगौली गाउँपालिकाका भथौडा, भाथा, रंगपुर, सोनबर्षा तथा सखुवाप्रसौनी गाउँपालिकाअन्तर्गत औराहा, छतिवन र अकवनिया क्षेत्रका किसानहरूले पनि बाली जोगाउन कठिनाइ भइरहेको गुनासो गरेका छन्।
जिराभवानी गाउँपालिका वडा नं. ५ सखुवनीया निवासी किसान सुदामा महतो कम्कडका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रबाट आउने चितल, हरिण, निलगाई, घोडगधा, बदेल, भालु, स्याल र मयूरजस्ता जंगली जनावरहरूले किसानका बाली नष्ट गर्दै आएका छन्। “दर्जनौंको संख्यामा आउने जनावरले गहुँ, आलु र तोरीजस्ता बालीमा ठूलो क्षति पुर्याइरहेका छन्,” उहाँले भन्नुभयो।
जंगली जनावरबाट बाली जोगाउन किसानहरूले रुखमा मचान र खेतमै छाप्रो बनाएर रातभर बस्नुपर्ने अवस्था आएको छ। जिराभवानी गाउँपालिका वडा नं। ५ हरैया निवासी जलकपूर राउत थारुका अनुसार करिब तीन दर्जनभन्दा बढी किसानले राति जंगली जनावर बथानसहित खेतमा पसेपछि होहल्ला गर्ने, टिन ठट्याउने र आगो बालेर धपाउने गरेका छन्।
राउतका अनुसार एउटा टर्च र लाठी बोकेर आगो ताप्दै ज्यान जोखिममा पारेर बाली जोगाउनुपरेको छ। “बाली नलगाउने हो भने खाने के ? अर्को खेत पनि छैन,” भन्दै उहाँले पीडा पोख्नुभयो। साँझ परेपछि खाना र पानी बोकेर छाप्रो वा मचानमा पुग्ने र जंगली जनावर धपाउँदै रात बिताउनुपर्ने बाध्यता किसानहरूको साझा गुनासो बनेको छ।
यस क्षेत्रका प्रायः प्रत्येक किसानले खेतमै छाप्रो बनाएका छन् र बाली जोगाउन खेतमै बास बस्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
उता ठोरी गाउँपालिका वडा नं. ५ अन्तर्गत क्षेत्रीलाइन र गडुवालाईन क्षेत्रमा जंगली जनावरको आतङ्कबाट बच्न किसानहरूले सुर्ती बाली लगाउन थालेका छन्। तर सुर्तीमा समेत बाँदरको समूहले क्षति पुर्याउन थालेपछि किसानहरू थप चिन्तित बनेका छन्। कतिपय जंगली जनावरले नखाए पनि तोरी बाली माडेर नष्ट गर्ने गरेको गुनासो छ भने मयूरको समूहले पाकेको तोरी टिपेर क्षति पुर्याइरहेको किसानहरूले बताएका छन्।
पर्सा राष्ट्रिय निकुञ्जले जंगली जनावर नियन्त्रणका लागि विद्युतिय तारबार र मेस जाली जडान गरे पनि अपेक्षित परिणाम नआएको किसानहरूको गुनासो छ। उनीहरूले दीर्घकालीन समाधानका साथै क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।















