२६ पौष, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी पूरा भएको छ । संस्थापन पक्षको तीव्र असहमति र बहिष्कारको चेतावनीका बीच भोलि (शनिबार) र पर्सि काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुन लागेको हो ।
विशेष महाधिवेशनका लागि काठमाडौँ उपत्यकाका मुख्य सडकहरू पार्टीका झण्डा र ब्यानरले सिँगारिएका छन् भने भृकुटीमण्डपमा मञ्च निर्माण र हल सजावटको काम अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ ।
भोलि दिउँसो १२ बजे उद्घाटन समारोह सुरु हुनुअघि काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ । सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलबाट निस्कने जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।
संस्थापन पक्षले दबाब सिर्जना गरे पनि ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको दाबी महामन्त्रीद्वयको पक्षले गरेको छ। कतिपय जिल्लामा त ९५ प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थन रहेको दाबी गरिएको छ ।
विशेष महाधिवेशनलाई पार्टीको आधिकारिक निर्णयविपरीतको ‘विद्रोह’ मान्दै संस्थापन पक्षले यसलाई रोक्न कडा रणनीति अपनाएको छ । कर्णाली र मधेस प्रदेशका जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्तालाई महाधिवेशनमा सहभागी नहुन निर्देशन दिएका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएका बेला विशेष महाधिवेशनलाई रोक्न संस्थापन पक्षीय जिल्ला सभापतिहरूले कडा प्रतिवाद गरेका छन् । कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, जाजरकोट, दैलेख, रुकुम पश्चिम र सुर्खेतका जिल्ला सभापति तथा सल्यानका उपसभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै कुनै व्यक्ति विशेषले आह्वान गरेको कार्यक्रममा सहभागी नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । उनीहरूले आधिकारिक निर्णयबिना गरिने यस्ता भेलाले पार्टीलाई नोक्सान पुर्याउने तर्क गरेका छन् ।
त्यसैगरी, मधेस प्रदेशअन्तर्गतका आठै जिल्लाका सभापतिहरूले पनि विधानको व्याख्या गर्दै विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको स्पष्ट पारेका छन् । उनीहरूले यस महाधिवेशनलाई विधानविपरीतको गतिविधिका रूपमा संज्ञा दिँदै पार्टीका सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई अनुशासन उल्लंघन हुने यस्ता क्रियाकलापमा संलग्न नहुन विशेष आग्रह गरेका छन् ।
पार्टीभित्र नीतिगत स्पष्टता, नेतृत्वको कार्यशैलीमा सुधार र समयसापेक्ष परिवर्तनको एजेन्डा बोकेर महामन्त्रीद्वयले यो कदम चालेका हुन् । संस्थापन पक्षले यसलाई ‘अनुशासनहीनता’ भने पनि महामन्त्री पक्षले भने पार्टी बचाउन कार्यकर्ताको भावना अनुसार अघि बढेको तर्क गरेको छ ।
पार्टीभित्रको यो शक्ति संघर्षले आगामी दिनमा नेपाली कांग्रेसको आन्तरिक समीकरण र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।















