२६ पौष, वीरगञ्ज । नेपालमा हाल पश्चिमी वायुका साथै दक्षिण पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । यसका कारण मुलुकका विभिन्न भू-भागमा बदली हुनुका साथै तराईका जिल्लाहरूमा कठ्यांरिदो चिसो र हुस्सुको प्रभाव बढ्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था छ । बाँकी पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
तराई क्षेत्रमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित हुन थालेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा बाक्लो हुस्सु लागेको छ भने बाँकी तराईका थोरै स्थानहरूमा पनि कुहिरोको प्रभाव देखिएको छ । आज दिउँसो तराईका अधिकांश स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो कायमै रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। पहाडी र हिमाली क्षेत्रमा भने घाम लाग्ने र मौसम सफा रहनेछ । आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु रहने र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।
मध्याह्नसम्म कुहिरो लाग्ने र भिजिबिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन र चिसोबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न मौसमविद्हरूले सुझाव दिएका छन् ।















