Logo

२६ पौष, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन) र महामन्त्रीद्वय गगन थापा (इतर) पक्षबीच वारपारको स्थिति सिर्जना भएको छ । इतर पक्षले भोलिदेखि गर्न लागेको ‘विशेष महाधिवेशन’ रोक्ने रणनीतिका साथ संस्थापन पक्षले आज बिहान ९ बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सबै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्र उत्पन्न ‘अस्वाभाविक’ गतिविधिका बारेमा छलफल गर्न यो बैठक आह्वान गरिएको हो ।

इतर पक्षको शक्ति प्रदर्शन

संस्थापन पक्षको कडा चेतावनीका बीच इतर पक्षले विशेष महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । आज दिउँसो १ बजे भृकुटीमण्डपबाट सुरु भई बागबजार हुँदै पुनः भृकुटीमण्डप पुगेर पदयात्रा (र्‍याली) समापन गर्ने तालिका छ ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट सुरु भएको यो अभियानमा अहिले सहभागिता बढ्दै गएको इतर पक्षको दाबी छ। “भोलिको महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ,” इतर पक्षका एक नेताले दाबी गरे । यद्यपि, केही जिल्ला सभापतिहरूले भने हस्ताक्षर फिर्ता लिएको र वैशाखमा तय भएको नियमित महाधिवेशनको पक्षमा रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

विशेष महाधिवेशनलाई ‘अवैध’ ठहर गरेको संस्थापन पक्षले सोही कार्यक्रमलाई प्रभावित पार्ने गरी भोलि र पर्सि सानेपामा ‘युवा भेला’ तथा ‘जिल्ला सभापतिहरूको भेला’ आयोजना गरेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन चल्दै गर्दा सानेपामा संस्थापन पक्षको समानान्तर भेला हुने भएपछि कार्यकर्ताहरू विभाजित भएका छन् ।

दुवै पक्ष आ-आफ्नो अडानबाट पछि नहट्दा ऐतिहासिक पार्टी नेपाली कांग्रेस फुटको सङ्घारमा पुगेको राजनीतिक विश्लेषकहरूको ठहर छ । संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी हुनेहरूलाई कारबाही गर्ने सङ्केत दिएको छ भने इतर पक्षले पार्टी रूपान्तरणका लागि यो कदम अपरिहार्य रहेको बताउँदै आएको छ ।


सम्बन्धित समाचार
भर्खरै