Logo

२६ पौष, काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री, वरिष्ठ पत्रकार एवं पार्टीका नेता होमनाथ दाहालको निधनमा गहिरो दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दाहालको सम्मानमा विभिन्न शोक कार्यक्रमहरू गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय सानेपामा सम्पन्न बैठकले दाहालको निधनप्रति शोक व्यक्त गर्दै पुस २६, २७ र २८ गतेसम्म तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेका शोक प्रस्तावमा पुस २७ गते आइतबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने उल्लेख छ  सो प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको हो ।

नेता दाहालको योगदानलाई कदर गर्दै कांग्रेसले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । शोकको १३ औं दिनमा उनका गृहजिल्ला ओखलढुंगामा विशेष शोक सभाको आयोजना गरिने कार्यवाहक सभापति खड्काले जानकारी दिए ।

वरिष्ठ पत्रकार दाहाल नेपाली पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा थिए । उनले मन्त्रीका रूपमा सरकारी जिम्मेवारी सम्हाल्नुका साथै पार्टीको संगठन विस्तारमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको निधनले नेपाली कांग्रेस र पत्रकारिता क्षेत्रले एक बौद्धिक व्यक्तित्व गुमाएको बैठकमा चर्चा गरिएको थियो ।


सम्बन्धित समाचार
भर्खरै