२७ पौष, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले औपचारिक विभाजनको झल्को दिने गरी आजदेखि राजधानीमा ‘विशेष महाधिवेशन’ सुरु हुँदैछ । संस्थापन पक्षको कडा असहमति, विरोध र बहिष्कारको अपिलका बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरको आह्वानमा भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुन लागेको हो ।
विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने मञ्च र ६ हजारभन्दा बढी कुर्सीसहितको भव्य तयारी गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट निस्कने र्याली उद्घाटन सत्रमा सहभागी हुनेछन् । यस कार्यक्रमको सभापतित्व काठमाडौँ कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् भने अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन।

बाराबाट ६४ प्रतिशत सहभागी
संस्थापन पक्षले विशेष महाधिवेशनलाई ‘अवैध’ भन्दै सहभागी नहुन दबाब दिए पनि देशभरबाट प्रतिनिधि आउने क्रम जारी छ । विशेषगरी बारा जिल्लाबाट ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन् । १०४ जनामध्ये ६५ जनाभन्दा बढी प्रतिनिधिहरू राजधानी आइपुगेको र बाँकी आउने क्रममा रहेको बाराका जिल्ला सचिव राजेश रौनियारले जानकारी दिए।
बारा कांग्रेसका क्षेत्रीय सभापति प्रभात चौरसियाले कसैको डर वा धम्की स्वीकार्य नहुने बताउँदै भने, “हामी कांग्रेसका सच्चा सिपाही हौँ, देशको चाहना र समयको मागअनुसार पार्टी परिवर्तन गर्न यो महाधिवेशन सफल पार्नुको विकल्प छैन ।” बारा कांग्रेसले यसअघि नै आफ्ना प्रतिनिधिहरूलाई सहभागी हुन ‘ह्विप’ समेत जारी गरेको थियो ।
आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार ३ हजार ६०० प्रतिनिधिका लागि काठमाडौँका विभिन्न स्थानमा आवासको व्यवस्था गरिएको छ। सहभागी प्रतिनिधिहरूले १ हजार रुपैयाँ शुल्क तिरेपछि झोला, खाना र नास्ताको कुपन पाउने व्यवस्था मिलाइएको धमलाले बताए । उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ, जहाँ पार्टीको नीतिगत दस्तावेजमाथि छलफल हुनेछ ।
यता, संस्थापन पक्षले भने आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएको अवस्थामा विशेष महाधिवेशनको कुनै वैधानिकता र औचित्य नरहेको दाबी गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको कार्यतालिका ल्याइसकेकाले यसलाई विधानविपरीतको गतिविधि भनेको छ । यद्यपि, महामन्त्रीद्वयसहित पाँच शीर्ष नेताहरूले नियमित महाधिवेशनको मितिप्रति असहमति जनाउँदै विशेष महाधिवेशनलाई नै जोड दिएका छन् ।
आजको यस विशेष महाधिवेशनले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा र पार्टीको आन्तरिक एकतामा कस्तो प्रभाव पार्छ भन्ने कुरालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।















