२७ पौष, जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाम नगर क्षेत्रका ८० प्रतिशत परिवार अझै पनि सरकारी खानेपानीको पहुँच बाहिर रहेका छन् । नेपाल खानेपानी संस्थान जनकपुरधामले उपभोक्ताको बढ्दो मागअनुसार पानी वितरण गर्न नसक्दा नगरवासीहरूलाई सास्ती भोग्नु परेको हो ।
नगर क्षेत्रमा दैनिक २ करोड ५० लाख लिटर पानीको माग रहे तापनि संस्थानले केवल २० प्रतिशत घरधुरीमा मात्र पाइपमार्फत पानी आपूर्ति गर्न सकेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार जनकपुरधाममा रहेका ४० हजार ४०९ परिवारमध्ये हालसम्म ५ हजार परिवारमा मात्र खानेपानीको धारा र मिटर जडान गरिएको छ ।
संस्थानका कार्यालय प्रमुख विष्णुदेव साहका अनुसार धारा जडान गरिएका मध्ये पनि केवल ४० प्रतिशत घरमा मात्र आंशिक रूपमा पानी आपूर्ति हुने गरेको छ। “पछिल्लो समय परिवारको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ, तर हाम्रो वितरण क्षमता पुरानै छ,” साहले भने । हाल वडा नं १० र रामानन्द चोकमा रहेका ४ लाख ५० हजार लिटर क्षमताका दुईवटा ओभरहेड ट्याङ्कीबाट ६ वटा डिप बोरिङमार्फत भूमिगत पानी प्रशोधन गरी वितरण भइरहेको छ ।
३४ वर्ष पुरानो जीर्ण प्रणाली
खानेपानी वितरणमा देखिएको मुख्य चुनौती ३४ वर्ष पुरानो र जीर्ण वितरण प्रणाली हो । जीर्ण पाइपका कारण विभिन्न स्थानमा पाइप फुट्ने र चर्किने समस्याले ५० प्रतिशत मात्र पानी आपूर्ति भइरहेको छ । सीमित बजेटका कारण पुराना पाइप फेर्न र सबै वडामा नयाँ सञ्जाल विस्तार गर्न समस्या भएको संस्थानको दाबी छ ।
यद्यपि, केही सुधारका प्रयासहरू भने सुरु भएका छन्। गत आर्थिक वर्षमा १ करोड ३० लाखको लागतमा थप ५ लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ भने मुजेलिया प्रहरी चौकीदेखि वडा नं ८ सम्म ८-८ इञ्चको पाइप बिछ्याइएको छ ।
चापाकलकै भरमा नगरवासी
सरकारी धाराबाट पानी नआएपछि जनकपुरधामका अधिकांश परिवारले व्यक्तिगत रूपमा चापाकल तथा मोटर जडान गरेर खानेपानीको गर्जो टारिरहेका छन् । भूमिगत जलस्तर घट्दै जाँदा र विद्युत् आपूर्ति पटक पटक बन्द हुँदा चापाकल प्रयोगकर्ताहरूले पनि सास्ती भोग्नुपरेको छ । विद्युत् कटौतिले संस्थानको पानी वितरण तालिका समेत प्रभावित हुने गरेको कर्मचारीहरूको गुनासो छ ।
राजधानी सहरमै खानेपानीको यस्तो दयनीय अवस्था रहँदा दीर्घकालीन समाधानका लागि वृहत् खानेपानी आयोजनाको आवश्यकता देखिएको छ ।















