Logo

२७ पुष, काठमाडौैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि स्वयंसेवकहरूको ठुलो टोली परिचालन गरिएको छ ।

आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुन लागेको यस ऐतिहासिक भेलाको आन्तरिक व्यवस्थापन, सुरक्षा र सहभागीहरूको सहजताका लागि करिब ६ सय जना स्वयंसेवकहरूलाई मैदानमा उतारिएको हो । नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डप र त्यस आसपासका संवेदनशील क्षेत्रहरूमा स्वयंसेवकहरूले मोर्चा सम्हालेका छन् । महाधिवेशनमा देशैभरिबाट आउने प्रतिनिधि र नेताहरूको सहज आवागमन तथा भीड नियन्त्रणका लागि विशेष योजनासहित उनीहरूलाई खटाइएको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कुनै पनि अप्रिय घटना हुन नदिन र सहभागीहरूलाई आवश्यक सहयोग पुर्‍याउन स्वयंसेवकहरूलाई तयारी अवस्थामा राखिएको जानकारी कटुवालले दिका छन् ।

महाधिवेशन परिसरमा स्वास्थ्य सुरक्षालाई समेत उच्च प्राथमिकता दिइएको छ । आकस्मिक स्वास्थ्य समस्या समाधानका लागि कार्यक्रम स्थलमै विशेष स्वास्थ्य सेवा डेस्क स्थापना गरिएको छ, जहाँ प्राथमिक उपचारदेखि स्वास्थ्य परामर्शसम्मको व्यवस्था मिलाइएको छ । आज दिउँसो १ बजे औपचारिक रूपमा उद्घाटन गरिने यस महाधिवेशनलाई भव्य र सुरक्षित बनाउन कांग्रेसले भौतिक व्यवस्थापनसँगै मानव संसाधन परिचालनमा विशेष जोड दिएको देखिन्छ ।


सम्बन्धित समाचार
भर्खरै