२७ पुष, काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका अत्यन्तै लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।
इन्डियन आइडलको उपाधि जितेर संसारभरका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्न सफल तामाङको आकस्मिक बिदाइले संगीत र चलचित्र प्रेमीहरूलाई मर्माहत बनाएको छ । आइतबार बिहान हृदयघात भएलगत्तै उनको निधन भएको खबरले कला जगतमा सन्नाटा छाएको छ ।
नेपाली सुगम संगीत र लोकपप गायनमा छुट्टै पहिचान बनाएका प्रशान्तले गोर्खा पल्टन जस्ता सफल चलचित्रमार्फत अभिनयमा पनि आफ्नो जादु छरेका थिए । दार्जिलिङको सामान्य परिवारबाट उठेर साङ्गीतिक उचाइ छोएका उनको यो असामयिक निधनलाई नेपाली कला क्षेत्रले एउटा अपूरणीय क्षतिको रूपमा लिएको छ । आफ्ना गीत र सरल स्वभावका कारण सधैँ चर्चामा रहने गरेका प्रशान्तको निधनले विशेषगरी प्रवासी नेपाली समुदाय र संगीतका अनुरागीहरूमा गहिरो शोक उत्पन्न गरेको छ ।
पछिल्लो समय दिल्लीमा रहँदै आएका तामाङको निधनको खबरसँगै कलाकार, शुभचिन्तक र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । एउटा सामान्य प्रहरी जवानबाट साङ्गीतिक आइकन बनेका प्रशान्तको योगदान नेपाली संगीतको इतिहासमा सधैँ अविस्मरणीय रहने छ ।















