Logo

२७ पुष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया भाँडिएसँगै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा व्यापक फेरबदल गरेको छ ।

आइतबार मात्रै दुई पार्टीबीचको एकता सहमति औपचारिक रूपमा अन्त्य भएको घोषणा गरिएलगत्तै रास्वपाले आयोग पुगेर उम्मेदवारहरूको नयाँ र अद्यावधिक सूची पेस गरेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार, आसन्न निर्वाचनका लागि यसअघि बुझाइएको सूचीमा उज्यालो नेपालका तर्फबाट समेटिएका नामहरू हटाएर नयाँ नाम समावेश गरिएको छ ।

यसअघि रास्वपाले सार्वजनिक गरेको समानुपातिक सूचीलाई लिएर चौतर्फी आलोचना भएपछि पार्टीभित्र ठुलै हलचल पैदा भएको थियो। विवाद र असन्तुष्टि बढ्दै जाँदा डा.रामजी राम, डा.अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह र मोहना अन्सारी लगायतका चर्चित व्यक्तित्वहरूले सार्वजनिक रूपमै आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए ।

आलोचना खेपेका र नाम फिर्ता लिएका नेताहरूको ठाउँमा नयाँ उम्मेदवारहरू छनौट गरी रास्वपाले आफ्नो बन्दसूचीलाई अन्तिम रूप दिएको छ । पार्टीको आन्तरिक कलह र एकता प्रक्रियाको असफलताका बीच अद्यावधिक गरिएको यो नयाँ सूचीले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । निर्वाचन आयोगले अद्यावधिक सूची बुझेसँगै अब रास्वपाको समानुपातिक निर्वाचनको प्रक्रिया नयाँ नामावलीका आधारमा अगाडि बढ्नेछ ।


सम्बन्धित समाचार
भर्खरै