२७ पुष, काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक कलहका बीच सुरु हुन लागेको विशेष महाधिवेशनको सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै पार्टी विभाजन रोक्न आफू निकै सतर्क र संवेदनशील रहेको स्पष्ट पार्नुभएको छ ।
देश निर्वाचनको संघारमा रहेको र संविधानको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसकै काँधमा आएको उल्लेख गर्दै उहाँले व्यक्तिगत महत्त्वाकाङ्क्षा भन्दा पार्टीको विधि र पद्धति ठुलो भएको बताउनुभएको हो । लोकतान्त्रिक आन्दोलनका आठ दशक लामो इतिहास स्मरण गर्दै डा। कोइरालाले जेनजी आन्दोलनले राजनीतिक दलहरूको विफलतामाथि प्रश्न उठाएको र सोही असन्तुष्टिको जगमा कांग्रेसभित्र संगठित गतिविधिहरू बढेको विश्लेषण गर्नुभएको छ ।
नेता कोइरालाले आफू सधैँ कांग्रेसलाई विधान र प्रक्रियासम्मत चलाउन सङ्घर्षरत रहेको भए तापनि आफ्नो लड्ने शैली शान्त र मधुरो हुँदा कतिपय साथीहरूमा अधैर्यता देखिएको स्वीकार गर्नुभएको छ । आफूलाई पार्टी सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ र निजी स्वार्थ नरहेको दाबी गर्दै उहाँले मन्त्री वा महामन्त्री जस्ता पदको अवसर आउँदा समेत रुचि नदेखाएको स्मरण गराउनुभएको छ ।
बीपी कोइरालाको मेलमिलापको नीति केवल कानुनको पन्नाबाट नभई अन्तर्आत्माको आवाजबाट निस्किएको चर्चा गर्दै उहाँले अपमान सहेरै भए पनि पार्टीलाई एक ढिक्का बनाउन आफू विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विशेष महाधिवेशनका लागि काठमाडौँमा भेला भएका प्रतिनिधिहरूलाई पार्टीको धरोहर संज्ञा दिँदै डा. कोइरालाले उहाँहरू विधान कार्यान्वयनका लागि आएको र आफू निकासका लागि निरन्तर लागिरहने बताउनुभएको छ ।
सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आफ्ना विमतिहरू कायम रहे पनि युवा पुस्ताको भावना र पार्टीको भविष्यलाई मध्यनजर गर्दै सबै कांग्रेसजन एकै ठाउँमा उभिएर महाधिवेशनमा जानुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय समुदायले समेत कांग्रेसको एकतालाई चासोका साथ हेरिरहेको भन्दै उहाँले संवाद र सहमतिको बाटो नछाड्ने सन्देश प्रवाह गर्नुभएको छ ।















