Logo

२७, पुष काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको भौतिक पूर्वाधार र अर्थतन्त्रमा अपूरणीय क्षति पुर्‍याएको तथ्य उजागर भएको छ ।

योजना आयो गले हालै सार्वजनिक गरेको विस्तृत क्षति मूल्याङ्कन प्रतिवेदन अनुसार दुई दिनको उग्र प्रदर्शनका क्रममा मुलुकले कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति गुमाएको छ । यो क्षति राष्ट्रिय अर्थतन्त्रका लागि निकै महँगो साबित भएको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत हुन आउँछ ।

आन्दोलनको रापले सरकारी र सार्वजनिक निकायहरूलाई सबैभन्दा बढी पिरोलेको प्रतिवेदनले देखाएको छ । कुल क्षतिमध्ये ५३ प्रतिशत हिस्सा सार्वजनिक क्षेत्रको रहेको छ भने निजी क्षेत्रले ४० प्रतिशत र सामुदायिक क्षेत्रले ७ प्रतिशत क्षति व्यहोरेका छन् । भौगोलिक रूपमा बागमती प्रदेश आन्दोलनको मुख्य चपेटामा परेको छ, जहाँ संरचनात्मक विनाशको मात्रा सबैभन्दा उच्च देखिएको छ । देशभर गरी २ हजार ६ सय ७१ वटा भवनहरूमा तोडफोड र आगजनी भएको छ, जसमा झण्डै ८० प्रतिशत सार्वजनिक भवनहरू मात्रै रहेका छन् ।

क्षतिको वित्तीय वर्गीकरण गर्दा भवनहरूमा मात्रै ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । यस्तै, सडकमा गुड्ने र पार्किङमा रहेका सवारी साधनहरूमा १२ अर्ब ९३ करोड ६१ लाख तथा अन्य भौतिक उपकरण र सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाखको क्षति पुगेको छ । प्रदर्शनकारीहरूले भौतिक संरचना मात्र नभई नगद र बहुमूल्य वस्तुहरूमा समेत २ अर्ब ८१ करोड ३४ लाखको नोक्सानी पुर्‍याएको आयोगको तथ्याङ्कले पुष्टि गर्दछ । यो विनाशकारी आँकडाले आन्दोलनका नाममा भएका तोडफोडले देशको विकास प्रक्रियालाई वर्षौँ पछाडि धकेल्ने जोखिम बढाएको छ ।


सम्बन्धित समाचार
भर्खरै