२७ पुष, भरतपुर । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत असार २८ गते पहिरो जाँदा त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एकको अवशेष फेला परेको छ।
आइतबार तनहुँको आँबुखैरेनी गाउँपालिका–५ क्षेत्रमा, सिमलतालको पारीपट्टी त्रिशूली नदी किनारमा उक्त बसको केही भाग फेला परेको प्रहरीले जनाएको छ। नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अवशेष भेटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार फेला परेको अवशेष पहिरोका कारण नदीमा खसेका दुई बसमध्ये एकको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















