Logo

२७ पुष, काठमाडौं । काठमाडौँ। नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र शक्ति सङ्घर्षका बीच भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले पार्टीको संस्थापन पक्षलाई ठुलो झट्का दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विधानसम्मत नभएको भन्दै यो महाधिवेशनलाई बेवास्ता गरिरहेका बेला उहाँकै समूहका प्रभावशाली हस्तीहरू धमाधम महाधिवेशन स्थल पुगेपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ । उद्घाटन समारोहमा देउवा निकटका मानिने नेताहरू उदयशमशेर राणा, विनोद चौधरी, डिला संग्रौला, र पुष्पा भुसालदेखि केन्द्रीय सदस्य गोकर्ण वाग्लेसम्मको उपस्थिति र नाम वाचनले संस्थापन पक्षभित्रको तीव्र असन्तुष्टि र विभाजनको रेखालाई प्रस्ट पारेको छ ।

विशेष महाधिवेशनको मञ्चबाट नेता गुरुराज घिमिरेले सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीहरूलाई खुला चुनौती र आग्रह दुवै व्यक्त गर्नुभएको छ । उहाँले यस महाधिवेशनलाई नजरअन्दाज नगर्न चेतावनी दिँदै आगामी फागुन २१ को निर्वाचनमा पार्टीलाई विजयी बनाउने उत्सवका रूपमा लिन आह्वान गर्नुभयो । विरोधीका कुरा सुन्ने र सहनशील हुने पार्टीको पहिचानलाई धुमिल बनाएको भन्दै नेतृत्वको कडा आलोचना गरे पनि घिमिरेले आफूहरूमाथि पत्थर प्रहार भए तापनि फूल फालेर एकताको हात बढाउन तयार रहेको बताउनुभयो ।

बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरूको समर्थनमा भइरहेको यस भेलामा राजन केसी, भरत शाह, देवेन्द्रराज कँडेल र अर्जुन जोशी जस्ता संस्थापन इतर र मध्यमार्गी धारका नेताहरूको बाक्लो उपस्थितिले नेतृत्व परिवर्तनको एजेन्डालाई थप बल पुर्‍याएको छ । नेता घिमिरेले निर्वाचनको मुखमा पार्टीलाई एकताबद्ध बनाउन सभापति देउवाले नै उदारता देखाउनुपर्नेमा जोड दिँदै आफूहरूले विशेष महाधिवेशन गर्ने प्रतिबद्धता पूरा गरेको उद्घोष गर्नुभयो । संस्थापन पक्षको असहयोगका बाबजुद भृकुटीमण्डपमा देखिएको यो मिनी महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक बाटो र सभापति देउवाको आगामी कदमलाई निकै चुनौतीपूर्ण बनाइदिएको छ ।


सम्बन्धित समाचार
भर्खरै