Logo

२८ पौष, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको स्वाधीनता र स्वतन्त्रताको रक्षाका लागि जनताको बृहत् एकता अपरिहार्य रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

संयोजक दाहालले राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकारलाई सुदृढ बनाउन सबै नेपाली एउटै केन्द्रमा उभिनुपर्ने बताए । “हामीले छरिएर रहेका वामपन्थी शक्तिहरूलाई एउटै ध्रुवमा ल्याउने उद्देश्यका साथ नै नेपाली कम्युनिस्ट पार्टी गठन गरेका हौँ,” उनले भने, “यो एकता केवल दल विशेषको लागि मात्र नभई राष्ट्रिय हितका लागि हो।”

सोही कार्यक्रममा बोल्दै पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरू सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले प्राप्त उपलब्धिको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति र बाँकी रहेका वामपन्थी घटकहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका कार्यकर्ताहरूलाई दुवै पूर्वप्रधानमन्त्रीले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरणको बहस चलिरहेका बेला दुई प्रमुख वाम नेताको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार