२८ पौष, काठमाडौँ । नेपालको अन्तरिक्ष प्रविधि विकासको यात्रामा आज अर्को एउटा ऐतिहासिक इँटा थपिँदैछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकास गरेको ‘मुनाल’ नामक उपग्रह आज (सोमबार) नेपाली समय बिहान १०:३२ बजे अन्तरिक्षतर्फ प्रक्षेपण गरिँदैछ ।
उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिने नास्टले जनाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) को ‘पीएसएलभी-सी ५९’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा यसलाई अन्तरिक्षमा पठाइनेछ ।
नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रहले विशेषगरी वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण र एआईमा आधारित डाटा प्रशोधनको काम गर्नेछ । यो उपग्रह निर्माणको नेतृत्व माध्यमिक तहका विद्यार्थीहरूले गर्नुलाई नेपाली प्राविधिक क्षमताको ठूलो उपलब्धिका रूपमा लिइएको छ।
नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार उपग्रहको सम्पूर्ण तयारी पूरा भइसकेको छ । “भारतीय समयअनुसार बिहान १०:१७ बजे र नेपाली समयअनुसार १०:३२ बजे प्रक्षेपणको समय तय भएको छ,” ढकालले भने, “यो प्रक्षेपण नेपालका लागि मात्र नभई नेपाली विद्यार्थीहरूको प्रतिभा विश्वसामु देखाउने एउटा महत्त्वपूर्ण अवसर हो।”
अन्तरिक्षमा पुगेपछि मुनाल उपग्रहको सञ्चालन र नियन्त्रण ललितपुरको खुमलटारस्थित नास्टको ग्राउन्ड स्टेसनबाट गरिनेछ । उपग्रहले पठाउने तस्बिर र तथ्याङ्कहरूलाई वैज्ञानिक अनुसन्धान र वातावरणीय परिवर्तनको अध्ययनमा प्रयोग गरिने लक्ष्य राखिएको छ ।
यसअघि नेपालले ‘नेपाली स्याट-१’ प्रक्षेपण गरे पनि ‘मुनाल’ स्वदेशमै विद्यार्थीहरूको प्रत्यक्ष संलग्नतामा निर्माण गरिएको पहिलो उपग्रह हो । यस ऐतिहासिक सफलताले भविष्यमा नेपाललाई अन्तरिक्ष प्रविधिमा आत्मनिर्भर बनाउन थप उर्जा दिने विश्वास गरिएको छ ।















