२८ पौष, काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा दशकौँदेखि पकड जमाउँदै आएका सभापति शेरबहादुर देउवाका लागि आफ्नै ‘किल्ला’ मानिने महाधिवेशन प्रतिनिधिहरू चुनौती बनेर उभिएका छन् । १४औँ महाधिवेशनमा देउवालाई ६० प्रतिशत मतसहित विजयी गराउने बहुमत प्रतिनिधिहरू नै अहिले नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
आइतबार राति ९ बजेसम्मको तथ्याङ्कअनुसार कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये २ हजार ६ सय ६२ जना (५६.१२ प्रतिशत) ले विशेष महाधिवेशनमा नाम दर्ता गराइसकेका छन्। सम्पर्कमा रहेका र आउने क्रममा रहेका प्रतिनिधिहरू थपिँदा यो सङ्ख्या ६० प्रतिशत नाघ्ने आयोजकको दाबी छ । यसले सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब मात्र बढाएको छैन, पार्टीभित्रको शक्ति सन्तुलनमा समेत फेरबदल ल्याएको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले भने विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि नपुगेको दाबी गरेका छन् । “बहुमत नपुग्ने भएपछि घरमा बसेका प्रतिनिधिलाई समेत बोलाउन थालिएको छ,” उनले भने । कार्यसम्पादन समितिले यसअघि नै दुई पटक विशेष महाधिवेशनलाई अवैधानिक ठहर गरिसकेको उल्लेख गर्दै उनले सभापति वा कार्यवाहक सभापति बन्दसत्रमा गएर स्वामित्व लिने सम्भावना नरहेको प्रष्ट पारे ।
आज (सोमबार) बिहान १० बजेदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। बन्दसत्र अघि बिहान ८ बजेदेखि पुनः प्रतिनिधि दर्ता खुल्ने प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए । बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले साङ्गठनिक र राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
बन्दसत्रका लागि राजु कट्टेलको नेतृत्वमा कार्यविधि मस्यौदा तयार गरिएको छ । हलमा ८ वटा समूह बनाएर नीति र संरचनागत सुधारमा छलफल हुनेछ । विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले भने, “प्रतिनिधिहरू नयाँ नेतृत्व नछानी घर फर्कने मुडमा देखिँदैनन् । नेतृत्व चयन नै हाम्रो मुख्य मुद्दा हो ।”
उद्घाटन सत्रमा बोल्दै महामन्त्री गगन थापाले सभापति देउवालाई ‘ठन्डा दिमागले सोचेर निर्णय लिन’ आग्रह गरे । “कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मान्छेको पार्टी हो,” थापाले भने, “युद्ध जित्नका लागि लडाइँ हार्नु पनि पर्छ। भोलिको बन्दसत्रमा उहाँहरू आउनुहुन्छ भन्ने अपेक्षा छ, नआए हलले जे निर्णय गर्छ, त्यही मेरो निर्णय हुनेछ।”
महामन्त्री विश्वप्रकाश शर्माले पनि कांग्रेसलाई फुटतिर होइन, फलामजस्तो बलियो बनाइने उद्घोष गरे । उनले सुशासनको संकल्प र जेनजी आन्दोलनको भावनालाई सम्बोधन गर्न यो महाधिवेशन कोशेढुङ्गा सावित हुने बताए ।
महाधिवेशनमा संस्थापन पक्षका करिब ३० केन्द्रीय सदस्यसहित पुराना नेताहरूको बाक्लो उपस्थिति थियो । पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमान अपहरणकारी बसन्त भट्टराई र उद्योगपति विनोद चौधरी समेतको उपस्थिति देखियो । देउवाका कट्टर समर्थक मानिएका सुधीर शिवाकोटीले समेत परिवर्तनलाई आत्मसात् नगरेको भन्दै कृष्णप्रसाद सिटौलाको साथ छाडेर विशेष महाधिवेशनमा उभिएको घोषणा गरे ।
प्रतिनिधिसभा निर्वाचनको संघारमा रहेको कांग्रेसका लागि यो विशेष महाधिवेशन अस्तित्व र पुनर्जीवनको लडाइँ बनेको छ । यदि आजको बन्दसत्रमा संस्थापन पक्षले स्वामित्व नलिएमा हलबाटै नयाँ नेतृत्व चयन हुने सम्भावना बलियो देखिएको छ ।















