Logo

२८ पुष, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले सोमबार अहिलेसम्मकै ऐतिहासिक उचाइ कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ पुगेको छ भने चाँदी ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनमा ४ हजार १ सय र चाँदीमा २०५ रुपैयाँको भारी वृद्धि देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५५० डलर र चाँदी ८३ डलर नाघेपछि त्यसको प्रत्यक्ष र तीव्र प्रभाव स्थानीय बजारमा परेको हो, जसले सर्वसाधारण र व्यवसायी दुवैलाई चकित पारेको छ ।

मूल्यमा आएको यो अस्वभाविक उछालको मुख्य कारण विश्व राजनीतिमा बढ्दो अनिश्चितता र तनावलाई मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला कदमहरू—जस्तै भेनेजुएलाको मुद्दा, इरान र ग्रिनल्यान्डलाई दिएको धम्की, तथा रुससँग तेल किन्ने मुलुकहरूमाथि ५०० प्रतिशतसम्मको ट्यारिफ लगाउने चेतावनीले विश्व अर्थतन्त्रमा त्रास पैदा गरेको छ । व्यवसायीहरूका अनुसार जब(जब अन्तर्राष्ट्रिय स्तरमा युद्ध वा राजनीतिक द्वन्द्वको सम्भावना बढ्छ, लगानीकर्ताहरू सुरक्षित विकल्पको रूपमा सुनतर्फ आकर्षित हुन्छन् ।

यसै द्वन्द्वको डरले विश्वका विभिन्न मुलुकका केन्द्रीय बैंकहरू र ठूला लगानीकर्ताहरूले सुन र चाँदीमा लगानी केन्द्रित गर्न थालेका छन् । मागमा आएको यही उच्च चापले गर्दा अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य अकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सानो हलचलले पनि नेपाली बजारलाई सिधै प्रभावित पार्ने हुँदा, वर्तमान भू–राजनीतिक तनाव नमिलेसम्म मूल्य अझै बढ्न सक्ने जोखिम रहेको छ।


सम्बन्धित समाचार
भर्खरै