२८ पुष, काठमाडौं । नेपाली राजनीतिमा पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले अहिले नयाँ मोड लिएको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीभित्रकै एउटा पक्षले संगठनलाई विभाजनको सङ्घारमा पुर्याउन खोजेको गम्भीर आरोप लगाएका छन् । सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा भेला भएका संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरूसँग संवाद गर्दै देउवाले पार्टी फुटाउने षडयन्त्र भइरहेको दाबी गरे ।
पार्टीभित्रको बढ्दो ध्रुवीकरणका बीच देउवा निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै यसलाई विधानविपरीतको कदमका रूपमा अर्थ्याएका छन् । ‘पार्टी फोड्ने प्रयास भइरहेको छ, तर म स्पष्ट पार्न चाहन्छु—कांग्रेस फुट्दैन,’ देउवाले कार्यकर्तालाई आश्वस्त पार्दै भने । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको गतिविधिलाई नजिकबाट नियालिरहेको र बन्दसत्रबाट आउने परिणामका आधारमा मात्रै आफ्नो आगामी रणनीति तय गर्ने रणनीति अख्तियार गरेका छन् ।
यता, महामन्त्रीद्वयको नेतृत्वमा सुरु भएको विशेष महाधिवेशनले भने पार्टीभित्र ठूलो हलचल पैदा गरेको छ । आजबाट सुरु भएको बन्दसत्रमा सहभागी नेताहरूले पार्टीमा आमूल सुधार र नेतृत्व परिवर्तनको एजेण्डालाई सशक्त रूपमा उठाएका छन् । विद्रोही पक्षले महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरूको उपस्थित रहेको दाबी गर्दै यसलाई पार्टीको वास्तविक शक्ति र जनमतको ऐनाका रूपमा व्याख्या गरेको छ ।
राजधानीमा जारी यो विशेष महाधिवेशनले कांग्रेसको भविष्य कता जान्छ भन्ने अन्योल थपेको छ । एकातिर देउवा पक्ष यसलाई ुअवैधानिकु भन्दै खारेज गर्ने दाउमा छ भने अर्कोतिर विद्रोही पक्ष बहुमतको बलमा पार्टीको कार्यदिशा नै बदल्ने कसरतमा जुटेको छ । यो शक्ति संघर्षले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई चलायमान बनाएको छ वा विभाजनको बीउ रोपेको छ, त्यसको निर्क्योल भने विशेष महाधिवेशनको अन्तिम निर्णयले नै गर्ने देखिन्छ ।















