Logo

काठमाडौँ । नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलन र भविष्यको दिशा तय गर्न निर्णायक मानिएको दोस्रो विशेष महाधिवेशनको बन्द सत्रले आफ्नो मुख्य कार्यसूचीमा प्रवेश गरेको छ ।

सोमबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रचार समिति संयोजक सुवास पोखरेलले पार्टीका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले महत्त्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत गर्ने जानकारी दिएका छन् । यी प्रतिवेदनहरूले केवल वर्तमान राजनीतिक अवस्थाको चित्रण मात्र नगरी कांग्रेसको सांगठनिक ढाँचामा नै व्यापक हेरफेरको प्रस्ताव गर्ने अपेक्षा गरिएको छ ।

महामन्त्रीहरूले पेस गर्ने प्रस्तावहरूमा मुख्यतया चारवटा क्षेत्रलाई समेटिएको छ । जसमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सूक्ष्म समीक्षा, पार्टीले लिने भावी नीति, विधानमा गर्नुपर्ने सामयिक संशोधन र समग्र कांग्रेसको सांगठनिक परिमार्जन रहेका छन् । यी प्रस्तावहरूलाई महाधिवेशन हलले स्वामित्व ग्रहण गरेपछि यसैका आधारमा पार्टीको नयाँ कार्यविधि निर्माण गरिनेछ । यस प्रक्रियाले बन्द सत्रलाई केवल भाषणमा मात्र सीमित नगरी ठोस वैधानिक निकास दिने आयोजक पक्षको दाबी छ ।

सहभागिता र छलफललाई थप प्रभावकारी र समावेशी बनाउनका लागि महाधिवेशन प्रतिनिधिहरूलाई नौवटा छुट्टाछुट्टै समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहले महामन्त्रीहरूका प्रस्तावमाथि सघन रूपमा दफावार छलफल गर्नेछन् र समूह नेतामार्फत प्राप्त निष्कर्षहरूलाई बन्द सत्रको साझा दस्तावेजमा समेटिनेछ । विशेष गरी विधान संशोधन र निर्वाचन प्रक्रियासँग जोडिएका प्रस्तावित कार्यविधिहरूमाथि हुने यो बहसले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई कुन उचाइमा पुर्‍याउँछ भन्ने चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै