२८ पुष, काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले पार्टीको सत्ता संरचनामा आमूल परिवर्तनको संकेत गर्दै महामन्त्री गगन थापालाई अन्तरिम सभापतिको भूमिकामा उभ्याउने गृहकार्य सुरु गरेको छ ।
बन्दसत्रले पारित गरेको नयाँ कार्यविधिले विधानका कतिपय पुराना व्यवस्थाहरूलाई थाँती राख्दै आगामी वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि नयाँ अन्तरिम केन्द्रीय कार्यसमिति चयन गर्ने वैधानिक बाटो खोलेको हो । यो नयाँ व्यवस्था अनुसार वर्तमान संस्थापन पक्षको पकडलाई विस्थापित गर्दै महामन्त्री थापाको नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी शक्तिशाली समिति निर्माणको तयारी तीव्र पारिएको छ ।
विशेष महाधिवेशनले पारित गरेको कार्यविधिले चौधौँ महाधिवेशन पश्चात् बनेका निर्वाचन, अनुशासन र लेखा जस्ता शक्तिशाली केन्द्रीय समितिहरूलाई पूर्ण रूपमा विघटन गर्ने निर्णय लिएको छ । यी समितिहरूको सट्टामा विधानको धारा ३५ बमोजिम पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरिनेछ, जसलाई पुस २७ र २८ गतेको यो विशेष महाधिवेशनलाई नै पूर्ण वैधानिकता दिने अधिकार समेत सुम्पिएको छ । यही निर्वाचन समितिले विधानको धारा २१ बमोजिम नयाँ कार्यसमितिको निर्वाचन गराउने प्रक्रिया अघि बढाएसँगै हलको म्यान्डेटका आधारमा गगन थापालाई सभापतिको रूपमा अघि सार्न लागिएको हो ।
यो निर्वाचन केवल औपचारिकतामा मात्र सीमित नभई आगामी वैशाख अन्तिम साताका लागि तय गरिएको नियमित महाधिवेशनको आधारभूमि तयार पार्ने रणनीतिका रूपमा हेरिएको छ । विधानको धारा १६ ९१० बमोजिमको सर्वाधिकार प्रयोग गर्दै महाधिवेशन प्रतिनिधिहरूले अन्तरिम अवधिका लागि नेतृत्व परिवर्तन गर्न लागेका हुन् ।
यदि यो प्रक्रिया सफल भएमा, कांग्रेसको इतिहासमा नियमित महाधिवेशन अगावै अन्तरिम सभापतिका रूपमा गगन थापाको उदयले पार्टीभित्रको परम्परागत शक्ति सन्तुलनलाई पूर्ण रूपमा उल्ट्याइदिने निश्चित छ।
















