२८ पुष, काठमाडौँ । नेपालको अर्थतन्त्रमा पछिल्लो एक वर्षदेखि देखिएको सुखद प्रवृत्तिमा पहिलोपटक ब्रेक लागेको छ ।
गत कात्तिक महिनामा २५ वर्षयताकै न्यून बिन्दु (१ दशमलव ११ प्रतिशत) मा झरेको मूल्यवृद्धि दर मंसिरमा आइपुग्दा फेरि उकालो लाग्न थालेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मंसिरमा मुद्रास्फीति दर बढेर १.६३ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा ० दशमलव ५२ प्रतिशत विन्दुले बढी हो । २०८१ मंसिरदेखि निरन्तर घट्दो क्रममा रहेको मूल्यवृद्धिमा यसपटक देखिएको यो वृद्धिले बजारमा महँगीको नयाँ दबाब सिर्जना हुन सक्ने संकेत गरेको छ ।
मंसिरमा मूल्यवृद्धि उकालो लाग्नुमा मुख्य दुईवटा आयामले काम गरेको देखिन्छ । पहिलो, खाद्य तथा पेय पदार्थको मूल्यमा हुँदै आएको उच्च गिरावटको दरमा कमी आउनु र दोस्रो, गैरखाद्य तथा सेवाजन्य क्षेत्रको मूल्यवृद्धि दर बढ्नु । तथ्याङ्कअनुसार कुल भारको ६४.५१ प्रतिशत हिस्सा ओगट्ने गैरखाद्य क्षेत्रमा यातायात, सञ्चार र विविध सेवाको महँगी बढेको छ । विशेष गरी यातायातमा १।८६ प्रतिशत र विविध वस्तु तथा सेवामा १८.५६ प्रतिशतको उच्च मूल्यवृद्धि देखिएको छ । अर्कोतिर, तरकारी र फलफूलको मूल्य अझै नकारात्मक रहे पनि कात्तिकको तुलनामा मूल्य घट्ने क्रम सुस्त भएकाले समग्र औसत मूल्यवृद्धि दर बढेको देखिएको हो ।
यस मूल्यवृद्धिको पछाडि छिमेकी मुलुक भारतको बजार प्रभाव र बेसलाइन इफेक्टलाई मुख्य कारण मानिएको छ । भारतमा अक्टोबर र नोभेम्बरमा बढेको मुद्रास्फीतिको प्रत्यक्ष असर नेपाली बजारमा परेको विश्लेषकहरूको ठम्याइ छ। यद्यपि, अर्थविद् नरबहादुर थापा भने एक महिनाकै तथ्याङ्कका आधारमा हतारमा निष्कर्ष निकाल्न नहुने तर्क गर्छन् । उनी कम्तीमा तीन महिनाको प्रवृत्ति हेरेपछि मात्रै मूल्यवृद्धि कुन दिशामा जाँदैछ भन्ने प्रष्ट हुने बताउँछन् । तर, ब्याजदरभन्दा मुद्रास्फीति तल झरेर नकारात्मक वास्तविक ब्याजदरको जोखिम बढिरहेका बेला यो सामान्य वृद्धिले नीति निर्माताहरूलाई भने सचेत बनाएको छ।















