Logo

२८ पुष, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रले पार्टीको आन्तरिक राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेलगत्तै महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै विशेष महाधिवेशन आह्वान गर्नुपर्नुका ठोस र विशेष कारणहरूमाथि प्रकाश पारेका छन् । थापाले आफ्नो प्रस्तावमा मुलुकको वर्तमान राजनीतिक गतिरोध र कांग्रेसभित्र बढ्दै गएको वैचारिक रिक्ततालाई चिर्न यो महाधिवेशन एक अनिवार्य प्रस्थानविन्दु भएको जिकिर गरेका छन् । उनले विशेष अवस्था र परिस्थितिले नै पार्टीलाई यो मोडमा ल्याइपुर्‍याएको तर्क गर्दै अबको कांग्रेसले पुरानै शैलीबाट देशको नेतृत्व गर्न नसक्ने स्पष्ट पारेका छन् ।

महामन्त्री थापाको प्रतिवेदनमा विशेषगरी पार्टीको वर्तमान सुस्त कार्यशैली र नेतृत्वको असफलताका कारण कार्यकर्तामा छाएको व्यापक निराशालाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ। उनले पछिल्लो समय सडक र सामाजिक सञ्जालमा देखिएका नयाँ पुस्ताका आकांक्षा र जेनजीको आक्रोशलाई कांग्रेसले बेलैमा नबुझे पार्टीको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् । थापाले पेस गरेको राजनीतिक प्रस्तावमा केवल सिद्धान्तका कुरा मात्र नगरी पार्टीलाई पुनर्जीवन दिन तत्काल लिनुपर्ने साहसिक निर्णयहरू र भावी राजनीतिक कार्यदिशाको स्पष्ट खाका समेत समेटिएको छ । यसले बन्दसत्रमा सहभागी प्रतिनिधिहरूलाई पार्टीको भविष्यका बारेमा गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको छ ।

बन्दसत्रभित्र महामन्त्रीहरूले आक्रामक रूपमा प्रतिवेदन पेस गरिरहँदा बाहिर भने संस्थापन पक्ष यो प्रक्रियालाई रोक्न वा मत्थर पार्न अन्तिम कसरतमा जुटेको छ। पार्टी विभाजन हुन नदिन र दुवै पक्षलाई मान्य हुने गरी मध्यमार्गी नेताहरूले आइतबारदेखि नै छलफललाई तीव्र बनाएका छन् । एकातिर संस्थापन पक्षले यसलाई अवैधानिक भनिरहेको छ भने अर्कोतिर महामन्त्रीद्वयले यसलाई पार्टी शुद्धीकरणको महाअभियानका रूपमा व्याख्या गरिरहेका छन् ।

यो वैचारिक र राजनीतिक संघर्षको अन्तिम नतिजा के हुने भन्ने कुरा बन्दसत्रमा हुने दफावार छलफल र त्यसपछिको सहमति वा मतदानले नै तय गर्ने देखिएको छ।


सम्बन्धित समाचार
भर्खरै