काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारको परिसूचक नेप्सेमा सामान्य गिरावट देखिए पनि कारोबार रकमले भने नयाँ उचाई लिएको छ ।
नेप्से परिसूचक ५ दशमलव ५४ अंकले ओरालो लागेर २६३५ विन्दुमा ओर्लिएको छ । परिसूचक घटे पनि बजारमा लगानीकर्ताको सक्रियता भने उल्लेख्य बढेको देखिन्छ । अघिल्लो दिन करिब ४ अर्ब ९० करोड रुपैयाँको मात्र कारोबार भएकोमा सोमबार बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जसले बजारमा ुबार्गेन गर्ने लगानीकर्ताहरूको बढ्दो उपस्थितिलाई संकेत गर्दछ ।
बजारमा रहेका कुल कम्पनीहरूमध्ये सोमबार १७८ वटाको सेयर मूल्य घटेको छ भने ७५ वटा कम्पनीका लगानीकर्ताले मात्र कमाउन सफल भएका छन् । बाँकी ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन । समूहगत आधारमा हेर्दा उत्पादन तथा प्रशोधन समूहमा १.०२ प्रतिशतको सुधार देखियो भने व्यापार समूह सबैभन्दा धेरै १.१६ प्रतिशतले ओरालो लाग्यो । बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र बीमा लगायतका अधिकांश उप–समूहहरू राताम्मे हुँदा होटल तथा पर्यटन र विकास बैंक समूहमा भने झिनो वृद्धि देखिएको छ ।
बजार ओरालो लागे पनि एसवाई प्यानल र श्रीनगर एग्रिटेकका लगानीकर्ताहरूका लागि सोमबार सुखद रह्यो, यी दुवै कम्पनीको मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । रसुवागढी र बुङ्गल हाइड्रोपावरका सेयर धनीले पनि राम्रो नाफा कमाएका छन् ।
अर्कोतर्फ सुपर मादी हाइड्रोपावर र कालिका लघुवित्तका लगानीकर्ताहरूले भने नोक्सानी व्यहोर्नु परेको छ । आजको कारोबारमा एसवाई प्यानल, राधि विद्युत् र शिवम् सिमेन्ट लगायतका कम्पनीहरूको सेयर सर्वाधिक किनबेच हुँदै बजारमा प्रभुत्व जमाएका छन् ।















