२८ पुष, काठमाडौँ । विश्व हिन्दू परिषद् (विहिप) नेपालले राष्ट्रिय सुरक्षा, अवैध घुसपैठ, विदेशी वित्तपोषित गतिविधि तथा हिन्दू समाजमाथि भइरहेको भनिएको संगठित आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा खुला सीमाका कारण अवैध घुसपैठ, नक्कली कागजातको प्रयोग, संगठित अपराध र विदेशी वित्तपोषित गतिविधि बढ्दै गएको दाबी गर्दै यी विषयलाई राष्ट्रिय सुरक्षामाथिको चुनौतीका रूपमा उल्लेख गरिएको छ। परिषद्ले छठ, दुर्गा पूजा, गणेश पूजा, हनुमान जन्मोत्सवजस्ता हिन्दू पर्व तथा शोभायात्रामाथि भएका आक्रमणहरू योजनाबद्ध रहेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
विहिपले अवैध घुसपैठमा संलग्न व्यक्तिलाई डिपोर्ट गर्ने, सीमा सुरक्षा कडाइ गर्ने, विदेशी वित्तपोषित गतिविधिको छानबिन गर्ने, रामपाल समूहको अवैध अतिक्रमण रोक्ने, मदरसा शिक्षा बोर्ड निषेध गर्ने, मुस्लिम आयोग खारेज गर्ने, नाबालिका बलात्कार प्रकरणमा निष्पक्ष छानबिन गर्ने तथा निर्दोष हिन्दू युवाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
ज्ञापनपत्र बुझाउन परिषद्का राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीको नेतृत्वमा राष्ट्रिय महासचिव जितेन्द्र कुमार सिंहलगायत पदाधिकारीहरूको प्रतिनिधिमण्डल सहभागी रहेको थियो।















