२८ पौष, काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन पूर्वनिर्धारित समयभन्दा थप एक दिन लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको साङ्गठनिक तथा राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूबीचको छलफल नसकिएपछि महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।
विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि सुरु भएको महाधिवेशनमा दुवै महामन्त्रीका प्रतिवेदनमाथि घनिभूत रूपमा छलफल चलिरहेको छ। “महामन्त्रीद्वयले पेस गरेका प्रतिवेदनमाथि प्रतिनिधिहरूले आफ्ना धारणा राख्ने र छलफल गर्ने क्रम जारी छ,” चम्लागाईंले भन्नुभयो, “यो छलफल भोलि मंगलबार पनि चल्नेछ र त्यसपछि मात्र नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइनेछ।”
बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले पार्टीको आगामी कार्यदिशा, विधान संशोधन र नेतृत्व परिवर्तनको एजेन्डामा केन्द्रित भएर बहस गरिरहेका छन् । विशेषगरी १५औँ महाधिवेशन अगावै पार्टीको नीति र नेतृत्वमा कस्तो सुधार गर्ने भन्ने विषयमा प्रदेशगत समूहहरूमा गम्भीर छलफल भइरहेको छ ।
संस्थापन पक्षले बहिष्कार गरे पनि ५६ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको उपस्थिति रहेको यस महाधिवेशनमा प्रतिनिधिहरूले नेतृत्व चयनको मागलाई जोडदार रूपमा उठाएका छन् । आयोजक पक्षले भने सुरुमा नीतिगत प्रतिवेदनहरू पारित गर्ने र त्यसपछि हलको म्यान्डेट (जनादेश) अनुसार नेतृत्व चयनको विधि तय गर्ने रणनीति बनाएको छ ।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा सहभागी प्रतिनिधिहरू नयाँ नेतृत्व र स्पष्ट कार्यदिशा नतोकी घर नफर्कने अडानमा देखिएका छन् । भोलि प्रतिवेदनमाथिको छलफल सकिएपछि बन्दसत्रले पार्टीको नयाँ कार्यसमिति वा तदर्थ समितिको बारेमा ठोस निर्णय लिन सक्ने अनुमान गरिएको छ ।















