२९ पौष, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत विरबहादुर साह लहेरामाथि कार्यकक्षमै अभद्र व्यवहार र हातपात गरेपछि नगरपालिकाको सेवा प्रवाह अनिश्चितकालका लागि ठप्प भएको छ ।
सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सिम्रौनगढ नगरपालिका कर्मचारीहरुले कार्यालय परिसरभित्रै भएको उक्त घटनाको घोर भत्र्सना गर्दै सुरक्षाको ग्यारेन्टी नभएसम्मका लागि कामकाजमा नखटिने घोषणा गरेको हो ।
कर्मचारीहरुका अनुसार विशेष नगरसभाको विषयलाई लिएर भएको विवादमा उपप्रमुख शेहरले प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि जोरजबरदस्ती, गालीगलौज तथा दुव्र्यवहार गरेकी थिइन् । घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको गरिमा, मर्यादा र सुरक्षामाथि प्रत्यक्ष आघात पुगेको कर्मचारीहरूको ठहर छ ।
कर्मचारीहरूले आफ्नो सुरक्षा र सम्मान सुनिश्चित नहुन्जेलसम्मका लागि नगरपालिकाका सम्पूर्ण शाखाहरू र मातहतका कार्यालयहरूको सेवा स्थगित गरेका छन् । शिक्षण संस्थाहरू र अत्यावश्यक सेवा बाहेकका अन्य सबै कामकाज अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालका लागि बन्द गरिएको विज्ञप्तिमार्फत कर्मचारी परिवारले जानकारी दिएका छन् ।
सिम्रौनगढ नगरपालिका कर्मचारी परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । कार्यालय प्रमुख र कर्मचारीमाथि कार्यस्थलमै भएको यस्तो निन्दनीय कार्यले सुरक्षित कार्य वातावरणमा प्रश्न उठाएको उनीहरूको भनाइ छ ।
नगरपालिकाको कामकाज ठप्प हुँदा सेवाग्राहीहरूलाई पर्न जाने असुविधाप्रति कर्मचारी परिवारले क्षमायाचना गर्दै छिटो समाधानका लागि पहल गर्न आग्रह समेत गरेको छ । यस विषयमा नगर प्रमुख किशोरी साह कलवारसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।















