Logo

२९ पौष,काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुँदैछ । पुस २७ र २८ गतेका लागि तय गरिएको महाधिवेशन विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएपछि कार्यतालिका संशोधन गरिएको हो ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनहरूमा गहिरो छलफल चलिरहेका कारण महाधिवेशनको अवधि बढाइएको हो । आज पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने छ। महाधिवेशन पक्षधरहरूले सहभागी भइ हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या ७० प्रतिशत पुर्‍याउने दाबी गरेका छन् ।

नेता सुवास पोखरेलका अनुसार आइतबारसम्म २ हजार ६ सय ६२ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेका छन्, जुन संख्या सोमबार थप बढेको छ । मंगलबारदेखि नेतृत्व चयनको प्रक्रिया सुरु हुने र निर्वाचन, अनुशासन तथा केन्द्रीय समिति लगायतका संरचना भङ्ग गरिने उनले जानकारी दिए ।

यसैबीच संस्थापन पक्षलाई पनि सहमतिमा ल्याउने प्रयास तीव्र बनाइएको छ । सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरूबीच आज पनि वार्ता हुने भएको छ, जसमा गगन र विश्व समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी हुनेछन् ।


सम्बन्धित समाचार