२९ पौष, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बिहान ११ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने यस बैठकमा सहभागी हुन पदाधिकारी, केन्द्रीय सदस्यहरू र सातै प्रदेशका सभापतिहरूलाई निर्देशन दिइएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल र आवश्यक निर्णय गर्नका लागि यो बैठक आह्वान गरिएको हो । विशेषगरी, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनले उत्पन्न गरेको परिस्थितिलाई यस बैठकको मुख्य एजेन्डाका रूपमा हेरिएको छ ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेकै समयमा सभापति शेरबहादुर देउवाले बोलाएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ । एकातिर विशेष महाधिवेशन पक्षधरले नेतृत्व र नीति परिवर्तनको मुद्दा उठाउँदै नेतृत्व चयनको प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन् भने अर्कोतिर संस्थापन पक्षले यसलाई ‘अवैधानिक’ भन्दै आएको छ ।
सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा मुख्य गरी तीनवटा विषयमा केन्द्रित रहेर छलफल हुने बुझिएको छ । पहिलो, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका बहुमत प्रतिनिधिको सङ्ख्या र त्यसले पार्टीको वैधानिकताका साथै संस्थापन पक्षको शक्तिमा पार्ने प्रभावका बारेमा गम्भीर समीक्षा हुनेछ । दोस्रो, इतर पक्षले वार्ताका लागि टोली खटाएको सन्दर्भमा संस्थापन पक्षले सहमतिका लागि कस्तो लचकता अपनाउने वा कस्तो कठोर रणनीति लिने भन्नेबारे निर्णय लिइनेछ । तेस्रो, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड र पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवादलाई समाधान गरी निर्वाचनमा कसरी एकीकृत भएर जाने भन्ने बाटोको खोजी यस बैठकले गर्ने अपेक्षा गरिएको छ ।
बैठकले विशेष महाधिवेशनलाई स्वामित्व दिने वा थप कारबाहीतर्फ अघि बढ्ने भन्ने निर्णय गर्ने भएकाले चासोको विषय बनेको छ। पार्टीभित्रको यो शक्ति सङ्घर्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको भविष्य कस्तो हुने भन्ने कुराको समेत दिशानिर्देश गर्ने देखिन्छ ।
यो पनि :














