२९ पौष, काठमाडौँ । पार्टी विभाजनको जोखिमसम्म पुगेको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न दुवै पक्ष वार्तामा जुटेका छन् । विशेष महाधिवेशन अगाडि बढाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग संवाद गर्न चार सदस्यीय वार्ता समिति गठन गरेका छन् ।
महामन्त्रीद्वयले गठन गरेको वार्ता समितिमा नेताहरू प्रदीप पौडेल, गुरु घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन् । उता सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई जिम्मेवारी दिएका छन् ।
वार्ता समितिका सदस्य देवराज चालिसेले नेपालखबरसँग भने, “सभापति देउवा पक्षले जतिबेला वार्तामा बोलाए पनि हामी तयार छौँ । तर अहिलेसम्म औपचारिक खबर आएको छैन। उहाँहरू हठ त्यागेर आउने हो भने कुरा गर्न हामी पूर्ण रूपमा तयार छौँ ।”
कांग्रेसभित्रको विवाद मिलाउन सोमबार बिहानदेखि नै दुवै पक्षका नेताबीच अनौपचारिक छलफल भइरहेको छ । आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका कारण पार्टी विभाजनको आशंका बढेपछि नेताहरू एकता जोगाउने प्रयासमा लागेका हुन् ।
विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका महामन्त्रीद्वयसँग कार्यवाहक सभापति खड्का, नेता शेखर कोइराला, रमेश लेखक र मिनेन्द्र रिजाल अनौपचारिक संवादमा छन् । सहमति जुटाउनकै लागि विशेष महाधिवेशनको बन्दसत्र लम्ब्याइएको नेताहरूको भनाइ छ ।
महामन्त्रीद्वयले प्रस्तुत गरेका प्रतिवेदनमाथि सुझाव संकलन गर्न विधान संशोधन, नीति र नेतृत्व परिवर्तनसम्बन्धी बुँदामा नौ वटा समूह बनाएर छलफल गरिएको थियो । समूहगत छलफलको निष्कर्ष पेश गर्ने तयारी भइरहेकै बेला महामन्त्रीद्वय भृकुटीमण्डप नफर्किएपछि बन्दसत्र मङ्गलबार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बन्दसत्रमा विशेष महाधिवेशनको कार्यविधि पारित भएपछि महामन्त्री थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री शर्माको ‘बदलिएको देश, बदलिनुपर्ने कांग्रेस’ शीर्षकको संकल्पपत्र पेश गरिएको थियो । त्यसपछि उनीहरू दिउँसो १ बजे भृकुटीमण्डपबाट बाहिरिएका थिए। स्रोतका अनुसार उनीहरू दिनभर ललितपुरको हिमालय होटलमा आन्तरिक छलफल र संस्थापन पक्षका नेताहरूसँग फोन संवादमा व्यस्त रहे ।
नेता रमेश लेखकले महामन्त्रीहरूसँग विवाद समाधानका लागि संवाद जारी रहेको बताए । “सकेसम्म मिलाउने प्रयास भइरहेको छ, मिलाउने दिशातर्फ नै कुरा अघि बढेको छ,” उनले भने ।
महामन्त्री निकट स्रोतका अनुसार सहमतिका लागि उनीहरूले चार विषयलाई बटमलाइन बनाएका छन् । पहिलो, विशेष महाधिवेशनबाट पारित नीतिगत विषयको स्वामित्व पार्टीले लिनुपर्ने । त्यसका लागि केन्द्रीय समितिले पुस १८ मा विशेष महाधिवेशनको औचित्य समाप्त भएको ठहर गर्दै गरेको निर्णय फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।
दोस्रो, आसन्न निर्वाचनमा वितरण हुने टिकटमा कार्यवाहक सभापतिको हस्ताक्षर हुने व्यवस्था मिलाइनुपर्ने प्रस्ताव छ । हाल कांग्रेसले सभापति देउवाको हस्ताक्षर मान्य हुने निर्णय गरेको छ। महामन्त्री थापाले वर्तमान नेतृत्वको हस्ताक्षर नभएको टिकट लिएर चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
तेस्रो, आसन्न निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न संस्थापन पक्ष तयार हुनुपर्ने प्रस्ताव छ । चौथो, टिकट वितरणमा आफ्नो पक्षलाई ४० प्रतिशत हिस्सा सुनिश्चित गरिनुपर्ने माग छ। १४औँ महाधिवेशनपछि शेखर कोइराला र महामन्त्री थापा पक्षले ४० प्रतिशत हिस्सा पाउँदै आएको उनीहरूको दाबी छ ।
केन्द्रीय सदस्य प्रकाश स्नेहीले भने, “विशेष महाधिवेशनले ४० प्रतिशत हिस्साको हक महामन्त्रीहरूको हुन्छ भन्ने कुरा स्थापित गरेको छ । त्यसअनुसार टिकटको सुनिश्चितता र सभापतिको राजीनामा आएपछि मात्र सहमति गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।”
यद्यपि महामन्त्रीका सबै प्रस्ताव स्वीकार गर्न नसकिने भए पनि दुवै पक्षलाई जितको अनुभूति हुने गरी सहमति खोजी भइरहेको संस्थापन पक्षका नेताहरू बताउँछन् । नेता श्याम घिमिरेले भने, “नीतिगत कुरामा पार्टीले कति स्वामित्व लिन सक्छ भन्ने विषयमा छलफल भइरहेको छ। सहमति सम्भव देखिन्छ ।”
उता नेता शेखर कोइराला पनि पार्टी विभाजनको खतरा रोक्न मध्यमार्गी प्रस्तावसहित सभापति देउवा र महामन्त्रीहरूसँग संवादमा सक्रिय छन् । आइतबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरेपछि उनले शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए ।
“पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुँदैन भनेर म निरन्तर संवादमा छु। पार्टी फुट्दैन,” कोइरालाले आश्वस्त पारे ।
कोइराला निकट जिल्ला सभापतिहरूले पनि मध्यमार्गी प्रस्तावको ड्राफ्ट लिएर नेताहरूसँग छलफल गरेका छन् । धादिङ जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार विशेष महाधिवेशनलाई पार्टीले स्वामित्व लिने, उम्मेदवारका लागि हस्ताक्षर अधिकार कार्यवाहक सभापतिलाई दिने, नियमित महाधिवेशनको सुनिश्चितता गर्ने र विशेष महाधिवेशनमा प्रस्तुत दस्तावेजलाई पार्टीको पुँजीका रूपमा स्वीकार गर्ने प्रस्ताव अघि सारिएको छ ।
यो पनि :
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, भृकुटीमण्डपको हलचल मुख्य एजेन्डा














