२९ पुष, काठमाडौं । रोजगारीको सिलसिलामा भारत पुगेका सल्यानका दुई परिवारका ९ जना सदस्यको हिमाचल प्रदेशमा भएको भीषण आगलागी र ग्यास सिलिन्डर विस्फोटमा परी दुखद मृत्यु भएको छ ।
सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा बस्तीका यी दुई परिवार भारतको सोलान जिल्लास्थित अर्की भन्ने स्थानमा मजदुरी गर्दै आएका थिए । गएको पुस २७ गते राति काम सकेर सुतेको अवस्थामा उनीहरू बसेको पसलमा अचानक आगलागी भई भित्र रहेका सिलिन्डरहरू शृङ्खलाबद्ध रूपमा विस्फोट भएपछि यो भयावह दुर्घटना घटेको हो ।
विस्फोटमा परी ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती कविता, छोरीहरू राधा र रेनुका तथा छोरा राजन रहेका छन्। त्यसैगरी, सोही घटनामा ४७ वर्षीय काशिराम विक, उनकी श्रीमती टीका, छोरी अनु र छोरा किरणको पनि मृत्यु भएको छ । मृतकका आफन्त प्रेम विकका अनुसार सिलिन्डर विस्फोट यति शक्तिशाली थियो कि मृतक कसैको पनि शव चिन्न सकिने अवस्थामा छैन । आगलागी सुरु भएलगत्तै नजिकैको अर्को घरमा रहेका अन्य चारवटा परिवारका सदस्यहरूले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि दुई छाक टार्ने समस्याका कारण यी परिवारहरू करिब अढाई वर्षअघि मात्रै मजदुरीका लागि हिमाचल पुगेका थिए । स्थानीय वडाध्यक्ष मेघबहादुर बुढाथोकीले घटनाको पुष्टि गर्दै गाउँकै दुई परिवार सखाप भएपछि अहिले सिङ्गो टाकुरा बस्ती शोकमा डुबेको बताउनुभयो । वडा कार्यालयले यस हृदयविदारक घटनाप्रति दुःख व्यक्त गर्दै मंगलबार शोक बिदा दिने निर्णय गरेको छ । आफ्नै मुलुकमा रोजगारीको अवसर नहुँदा गरिब नेपालीहरूले परदेशमा यस्ता असुरक्षित परिस्थितिमा ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
अहिले हिमाचल प्रदेशको सुरक्षाकर्मी टोलीले घटनास्थलबाट शव संकलन गर्ने कार्य जारी राखेको छ । शवहरूको अवस्था अत्यन्तै क्षतविक्षत भएकाले संकलनमा कठिनाइ भइरहेको र कानुनी प्रक्रिया पूरा गरेपछि दाहसंस्कार भारतमै गर्ने वा नेपाल ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।















