२९ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनका विषयमा सहमति जुटाउन मंगलबार बिहान बसेको त्रिपक्षीय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
पार्टीभित्रका तीनवटै धारका नेताहरूबीच भएको उक्त छलफलमा ठोस सहमति जुट्न नसके पनि विवादका एजेण्डाहरूमाथि प्रवेश भएको र थप छलफलका लागि आजै दिउँसो २ः३० बजे पुनः बैठक बस्ने तय भएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार नगरेको र इतर पक्षले महाधिवेशन जारी राखेको जटिल परिस्थितिमा यो वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
वार्तामा विशेष महाधिवेशन पक्षधरका तर्फबाट नेता गुरुराज घिमिरेले आफूहरूले विशेष महाधिवेशन आह्वान गर्नुपरेको बाध्यात्मक परिस्थिति र कारणहरूबारे अन्य पक्षलाई स्पष्ट पारेको जानकारी दिनुभयो । उहाँका अनुसार बिहानको सत्रमा मुख्यतः विषयको उठान मात्र भएको छ र एजेण्डागत रूपमा विस्तृत छलफल हुन बाँकी छ। यसअघि पार्टीभित्रको संस्थापन पक्ष र इतर पक्षबीचको दुरी बढेपछि सहमतिको मध्यमार्गी बाटो खोज्न यो त्रिपक्षीय संवादको थालनी गरिएको हो ।
छलफलमा पार्टीका तीनवटै पक्षका प्रभावशाली नेताहरूको उपस्थिति रहेको थियो । विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनुहुन्थ्यो भने सभापति शेरबहादुर देउवाको तर्फबाट रमेश लेखक र बालकृष्ण खाणले प्रतिनिधित्व गर्नुभएको थियो । त्यसैगरी, शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा सहभागी हुनुभएको थियो । दिउँसो बस्ने दोस्रो चरणको बैठकले कांग्रेसभित्रको गतिरोध अन्त्य गर्न कुनै ठोस निकास निकाल्ने अपेक्षा कार्यकर्ताहरूले गरेका छन् ।















