Logo

२९ पुष, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्री गगन थापालाई पार्टी सभापति घोषणा गर्नुपर्ने माग गर्दै चर्को नाराबाजी भएको छ ।

विशेष गरी मधेस प्रदेशबाट सहभागी भएका महाधिवेशन प्रतिनिधिहरूले थापाको पक्षमा माहौल सिर्जना गर्दै उहाँलाई नै पार्टीको सर्वोच्च नेतृत्व सुम्पिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । बन्द सत्रको हलभित्रै भएको यस नाराबाजीले महाधिवेशनको वातावरणलाई थप गर्माएको छ ।

पार्टीभित्रको संस्थापन पक्ष र इतर पक्षबीच चलिरहेको वार्तामा ठोस सहमति जुट्न नसकेपछि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरू थप आक्रोशित देखिएका छन् । वार्ताको परिणाम सकारात्मक नआएको र नेतृत्वले आलटाल गरिरहेको भन्दै प्रतिनिधिहरूले अब ढिला नगरी नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउन दबाब दिएका हुन् । सोही क्रममा मधेसका प्रतिनिधिहरूले गगन थापालाई सभापतिको रूपमा अघि सार्दै उत्साहजनक नाराहरू लगाएका थिए ।

महाधिवेशन स्थलमा अहिले एकातिर नयाँ निर्वाचन समितिले आफ्नो काम सुरु गर्ने तयारी गरिरहेको छ भने अर्कोतिर कार्यकर्ताहरूको यो दबाबले नेताहरूलाई थप संकटमा पारेको छ । संस्थापन पक्षले यस महाधिवेशनलाई वैधानिकता नदिए पनि भृकुटीमण्डपमा जम्मा भएका प्रतिनिधिहरूले भने नेतृत्व परिवर्तनको मुद्दालाई सशक्त ढङ्गले उठाइरहेका छन् । बन्द सत्र जारी रहँदा कार्यकर्ताको यो मनोविज्ञानले कांग्रेसभित्रको शक्ति सङ्घर्षलाई नयाँ दिशा दिने संकेत गरेको छ ।


सम्बन्धित समाचार