Logo

२९ पुष, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेसँगै निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी दर्ता शुल्क निर्धारण गरेको छ ।

वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मनोनयन दस्तुरको विवरण समेत बाहिर ल्याएको हो । समितिले सार्वजनिक गरेको विवरणअनुसार पार्टीको सर्वोच्च पद सभापतिका लागि उम्मेदवारी दिन चाहने प्रतिनिधिले ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । त्यसैगरी, पार्टीको दोस्रो तहका महत्वपूर्ण पदहरू उपसभापति र महामन्त्रीका लागि उम्मेदवारी शुल्क २५ हजार रुपैयाँ तोकिएको छ ।

अन्य पदाधिकारी तथा सदस्य पदका लागि पनि समितिले क्रमशः शुल्क निर्धारण गरेको छ । सहमहामन्त्री पदका उम्मेदवारका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ मनोनयन दस्तुर कायम गरिएको छ । ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२’ र निर्वाचन निर्देशिकाको अधीनमा रही यो शुल्क निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी शुल्कबाट संकलित रकम महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रिया सञ्चालनमा खर्च गरिनेछ ।


सम्बन्धित समाचार