३० पौष, काठमाडौँ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका-२ मा रहेको नेपाल एसबीआई बैंकको शाखामा गएराति लुटपाट भएको छ । मंगलबार साँझ करिब ७ बजेतिर नकाबधारीको एक समूहले बैंकमा छिरेर रकम लुटपाट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लुटपाटमा संलग्नहरूले प्रयोग गरेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले घटनालगत्तै प्रहरी सक्रिय भएको र अनुसन्धानका लागि चालकसहितको गाडी नियन्त्रणमा लिइएको जानकारी दिए ।
‘बिहेमा जाने’ बहानामा गाडी प्रयोग
नियन्त्रणमा लिइएका चालकले आफूलाई घटनाबारे केही थाहा नभएको बयान दिएका छन् । उनले नकाबधारीहरूले ‘बिहेमा जानुपर्ने’ भन्दै गाडी बुक गरेको र अन्य गतिविधिबारे आफू अनभिज्ञ रहेको दाबी गरेका छन् । यद्यपि, प्रहरीले उनको बयानमाथि शङ्का गर्दै थप सोधपुछ र अनुसन्धान अघि बढाएको छ ।
स्थानीयका अनुसार नकाबधारी समूहले सुरुमा बैंकमा खटिएका सुरक्षा गार्डलाई आक्रमण गरी घाइते बनाएका थिए । त्यसपछि बैंकका दराज तथा काउन्टरमा रहेको नगद लुटी उनीहरू फरार भएका हुन् । बैंकबाट कति रकम लुटियो भन्नेबारे बैंक प्रशासनले हालसम्म यकिन विवरण सार्वजनिक गरेको छैन ।
लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजीका लागि जिल्लाका सबै नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको एसपी सुवेदीले बताए । प्रहरीले बैंकको सीसीटीभी फुटेज र स्थानीय प्रत्यक्षदर्शीहरूसँगको कुराकानीका आधारमा अपराधीहरूको सुराक पत्ता लगाउने प्रयास गरिरहेको छ ।















